आइसिसी विश्वकप लिग-२

अमेरिका विरुद्धको खेलमा नेपाल पराजित

केन्द्रभाग मिडिया

पोखरा ।

आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्धको खेलमा नेपाल पराजित भएको छ । अमेरिकाका टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरीमा सोमबार विहान सकिएको खेलमा नेपाललाई घरेलु टोलीले ३ विकेटले पराजित गरेको हो ।

टस जितेको अमेरिकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा पूरा खेल्दा २८६ रनमा अलआउट भएको थियो । नेपालका लागि ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले अर्धशतक प्रहार गरे । अनिलले ५६ रन र आसिफले ५२ रन बनाए ।

कुशल भुर्तेलले ११ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले नेपालका लागि सर्वाधिक ९६ रन जोडे । रोहितले ७५ बलमा ८ चौका र ३ छक्का हिर्काए ।

आरिफ शेखले ३७ रन जोडे भने दीपेन्द्रसिंह ऐरी १३ रनमा आउट भए । अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा अमेरिकाका केन्जिगेले ४ विकेट लिए । २८७ रनको लक्ष्य अमेरिकाले २ बल बाँकी छदा ७ विकेट गुमाएर पार गर्‍यो । उसका लागि ओपनिङ ब्याटर शायन जहानगिरले शतक प्रहार गरे । उनले १०४ रन जोडेका थिए ।

अर्का ओपनर आन्द्रेस गस १ रनमा आउट भए पनि कप्तान मोनाक पटेलले ६२ रन जोडे । उनले दोस्रो विकेटका लागि जहानगिरसँग १६१ रनको साझेदारी गरे ।

यस्तै हर्मित सिंहले ५७ रन र शाड्ली भान साल्वेकले २९ रन जोड्दा अमेरिका जित नजिक पुगेको थियो । बलिङमा नेपालका कुशल भुर्तेलले ४ विकेट लिए । सोमपाल कामीले २ विकेट लिए भने ललित राजवंशीले १ विकेट हात पारे ।

नेपाल, अमेरिका र स्कटल्यान्डबीचको यो सिरिजमा अब नेपालले भोलि राति सवा नौ बजे स्कटल्यान्डसँग खेल्नेछ । लिग-२ मा नेपालले ९ मध्ये ७ खेलमा हार ब्यहोरिसकेको छ । ३ अंक जोडेर आठ टोलीमध्ये सातौं स्थानमा रहेको नेपालले एक खेलमा जित र एक खेलमा अंक बाडेको छ ।

  • १२ कार्तिक २०८१, सोमबार ०७:१९ प्रकाशित