भारतीय फूलमाला आयात रोक्न सरकारसँग माग

केन्द्रभाग मिडिया

हेटौंडा ।

भारतबाट आयात हुने सयपत्री लगायतका फूलमाला रोक्न नेपाल सयपत्री फूलमाला उत्पादक केन्द्रीय संघले सरकारसँग माग गरेको छ ।

तिहारमा बढी माग हुने फूलमाला भारतबाट आउँदा नेपाली किसानहरुले आफूले उत्पादन गरेका फूलमालाले बजार भाउ नपाउने गुनासो गर्दै आएका छन् ।

नेपाल सयपत्री फूलमाला उत्पादक संघका केन्द्रीय अध्यक्ष बालकृष्ण चौलागाईंले तिहार लगायत चाडपर्व आउन थालेपछि नेपाली फूलमाला उत्पादक किसानहरुलाई अप्ठेरोमा पार्ने काम हुँदै आएको बताउँछन् । त्यसैले भारतबाट आउने सयपत्री लगायतका फूलमालाको आायतमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएको उनले बताए । यस वर्ष नेपालकै धेरै ठाउँमा खेती गरिएका सयपत्री फूलले बजारको प्रतिक्षा गरिरहेको उनको भनाइ छ ।

नेपाली सयपत्री फूलमाला मात्रै प्रयोग गर्न पनि उनले अनुरोध गरे ।

दीपावली आउनै लाग्दा फ्लोरीकल्चर एसोसिएसनले नेपाली किसानले उत्पादन गरेको फूलमालाले नेपाली बजारको माग नधान्ने र भारतीय बजारबाट थप माला नेपाल आयात गर्नुपर्ने अभिव्यक्ति दिएको भन्दै उनले खेद प्रकट गरे ।

  • ११ कार्तिक २०८१, आईतवार १५:०२ प्रकाशित