म्याग्दीका छ सय बढी घरमा विद्युत् सुविधा विस्तार

केन्द्रभाग मिडिया

म्याग्दी ।

मालिका गाउँपालिकाको छ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण गरेको हो ।

मालिका–२ रुम, बेली, जेम, घ्याङ्लेपानीमा दुई ५६, मालिका–३ खतेनमा ५०, लुप्सीपारमा ५४, पात्लेका एक सय २०, मालिका–४ ओखरबोटमा एक सय दुई घरमा बिजुली बलेको नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले जानकारी दिए । प्राधिकरणको विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका चारवटा वडामा बत्ती बलेको हो ।

म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि २२ करोड बजेटको योजना सञ्चालन भएको छ । घ्याङलेपानीबाहेकका बस्तीका बासिन्दाले यसअघि उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गरेका थिए ।

वर्षौँको प्रयासपछि बिजुली बलेपछि स्थानीयमा खुसीयाली छाएको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए। मालिका गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने पात्ले, लुप्सीपार, किटेनी, डाडागाउँ, औला, सेउलीबाङ, अदिभारा, इग्रे, खतेन बस्तीका तीन सय २५ घरमा विद्युतीकरण भएको उनले बताए ।

केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि स्थानीयलाई घरायसी कामकाज गर्न, विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहज भएको मालिका–३ पात्लेकी बालकुमारी रोकाले बताए ।

  • ११ कार्तिक २०८१, आईतवार ०९:११ प्रकाशित