वन पैदावार समृद्धिको आधार बन्नु पर्नेमा जोड

केन्द्रभाग मिडिया

पोखरा ।

वन प्रदावारलाई समृद्धिको आधार बनाउनु पर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ पोखरा महानगर महासंघद्धारा आयोजित क्षेमता अभिबृद्धि कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन ।

स्वदेशी काठको प्रयोग गर्दै विदेशी काठलाई विस्थापित गर्नुपर्ने बताउँदै बक्ताहरुले वन पैदावार उपयोगमा देखिएका नीतिगत समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता औल्याए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो कार्यक्रमको उद्घाटन गर्दै जिव र जगतसंग जोडिएको वनको संरक्षणसंगै हरित रोजगार श्रृजना गर्नुपर्नेमा जोड दिए । वन क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकासमा सामुदायिक वनको समुहको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै अवका दिनमा यसलाई समृद्धिसंग जोड्नु पर्ने आवश्यकता औल्याए ।

हरियाली प्रवद्र्धनसंगै वातावरण संरक्षणका लागि सामुदायिक वन समुहसंग साझेदारी गरेर अघि बढ्नुको विकल्प नभएको बताउँदै प्रमुख आचार्यले वन समुहलाई महानगरमा सुचिकृत हुन आग्रह गरे ।
महानगरले सामुदायिक वन लगायत सहरी क्षेत्रको खाली जग्गामा सांस्कृतिक झल्कन र आयआर्जन हुने खालका दुई लाख भन्दा बढी विरुवा रोप्ने तयारी गरिरहेको जानकारी दिए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालयबाट वन समुहलाई स्थायी लेखा नम्वर लिनका लागि आवश्यक कागजात, परिवर्तित सन्दर्भमा वनका नीतिका वारेमा जिभिजन वन कार्यालय, कृषि विकास बैंकको तर्फबाट वित्तिय साक्षरता, रेड कार्यान्वयन सम्वन्धी जानकारी गराइएको थियो ।

महानगरमा ३ सय ७८ सामुदायिक वन आवद्ध रहेको नगर महासंघका अध्यक्ष कमल भुजेलले जानकारी दिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ केन्द्र, प्रदेश, जिल्ला र वडा महासंघका गरि ४ सय ३१ जनाको सहभागिता रहेको थियो ।

  • १० कार्तिक २०८१, शनिबार १८:०५ प्रकाशित