एमाले कास्कीको चियापान

एमालेकै जो कोही भएपनि दोषीले उन्मुक्ति पाउन हुन्न : ईश्वर पोखरेल

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नै पार्टीको जुनसुकै ओहोदाको नेता भएपनि कानूनको नजरमा दोषी भए उन्मुक्ति नपाउने बताएका छन् । नेकपा एमाले कास्कीले शनिबार विहान पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममलाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन् ।

रास्वपा सभापति रवि लामिछानेलाई प्रतिसोधका कारण नभई संसदीय छानविन समितिले गरेको सिफारिसका आधारमा पक्राउ गरिएको भन्दै कुनै झुण्डले गरेको विरोधले उन्मुक्ति नपाइने धारणा राखे । उनले भने, ‘सहकारी ठगी काण्ड होस् वा अरु जुनसुकै काण्ड हुन् कानुनको नजरमा दोषी कोही हाम्रै नेता भएपनि छुट पाउँदैन । जुनसुकै ओहोदामा बसेको किन नहोस् । रवि लामिछानेलाई संसदीय छानविन समितिले नै कारबाहीका लागि सिफारिस गरेको हो । कानुन अनुसार अगाडि बढ्ने प्रक्रियालाई कुनै झुण्डले प्रभावित पार्ने काम गर्नु हुन्न ।’

विधिको शासनलाई सबैले मान्नुपर्ने उनको भनाई छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरुद्ध भइरहेको आन्दोलनलाई लक्षित गर्दै उनले विधिको शासन सबैले मान्नुपर्ने उल्लेख गरे । पोखरेलले देशको विकास र समृद्धिका लागि दुई ठूला दल एक ठाउँमा उभिएको र साथमा अन्य धेरै दलहरु रहेको बताए । उनले देशलाई गति दिनकै लागि सत्तारुढ दलहरुले साझा संकलल्प गरेको समेत दाबी गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले दसैं, तिहार, छट, नेपालसम्बत लगायत सबैचाडले सबै नेपालीमा एकता र सद्भाव कायम गर्न प्रेरणा मिल्ने बताए ।

कार्यक्रममा नेकपा एमाले स्थायी समिति सदस्य द्वय किरण गुरुङ र खगराज अधिकारीका साथै नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल लगायतले शुभकामना दिएका थिए । चियपान कार्यक्रममा गण्डकी प्रदेश सरकारका मन्त्रीहरु, कास्की स्थित विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि र सरकारी एवं गैरसरकार संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता थियो ।

  • १० कार्तिक २०८१, शनिबार ११:३६ प्रकाशित