माओवादी केन्द्रले काठमाडौंमा आज खबरदारी सभा गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा सरकार विरुद्ध खबरदारी सभा गर्दै छ । भृकुटीमण्डपमा माओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुको उपस्थितिमा हुने खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने सो पार्टीले जनाएको छ ।

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी पुरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले दाबी गरे ।

आज बिहान ११ बजे काठमाडौं मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् । जुलुस भद्रकाली, सहिद गेट हुँदै काठमाडौँ मलमा जम्मा हुनेछ । सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने अध्यक्ष सिंखडाले जानकारी दिए ।

जुलुस बागबजार, प्रदर्शनी मार्ग हुँदै १२ः ३० मा भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने सिंखडाले जानकारी दिए । करिब २ घण्टामा कार्यक्रम सकिने उनले जानकारी दिए । जुलुसमा उपत्यका भित्रबाट मात्र नेता कार्यकर्ता सहभागी हुनेछन् । उपत्यका बाहिरबाट कम सहभागी हुने सिंखडाले जानकारी दिए ।

सभामा करिब २५ देखि ३० हजारसम्म सहभागी हुने माओवादी केन्द्रको दाबी । कांग्रेस र एमाले मिलेर असारमा सरकार बनाएपछि माओवादी सत्ताबाट बाहिरिएको थियो । ओली नेतृत्वको गठबन्धन सरकार पश्चगामी भएको भन्दै माओवादीले देशभर आन्दोलन चर्काउने तयारी गरेको छ ।

  • १० कार्तिक २०८१, शनिबार ०८:४३ प्रकाशित