महसुल नतिर्दासम्म ३४ ठुला उद्योगको लाइन नजोड्ने प्राधिकरणको अडान

केन्द्रभाग मिडिया

काठमाडौँ ।

उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएसम्म नेपाल विद्युत् प्राधिकरणले लाइन नजोड्ने भएको छ ।

प्राधिकरणले उद्योगहरूको लाइन काट्नुअघि महसुल बुझाउन ९० दिनको समयसीमा दिएको थियो । उक्त समयसीमा बिहीबार सकिएपछि प्राधिकरणले महसुल नतिर्ने सबै उद्योगको लाइन काटेको हो ।

महसुल नतिरेका ४९ उद्योगमध्ये दुई वटा सार्वजनिक संस्थान छन् । उदयपुर सिमेन्ट उद्योग र हेटौँडा सिमेन्ट उद्योग लिमिटेडसँग हिसाब मिलान गर्न सकिने प्राधिकरणले जनाएको छ । यी दुई संस्थानबाट मात्रै प्राधिकरणले करिब ७८ करोड रुपैयाँ असुल गर्न बाँकी छ ।

४ उद्योगले किस्ताबन्दीमा महसुल बुझाउने लिखित प्रतिबद्धता जनाएका छन् भने २ उद्योगले पूरै बक्यौता तिरेका छन् । सात उद्योगले भने लाइन काट्ने निर्णयविरुद्ध अदालतबाट अन्तरिम आदेश लिएका छन् । ४ उद्योगले पहिलो किस्ताबापत रकम समेत प्राधिकरणलाई तिरेका छन् । यसकारण अहिले ३४ वटा उद्योगमा प्राधिकरणले लाइन दिएको छैन ।

  • ९ कार्तिक २०८१, शुक्रबार १६:४३ प्रकाशित