कति आउँछन् पोखरामा पर्यटक ? १ जनवरीबाट राखिनेछ रेकर्ड !

केन्द्रभाग मिडिया

पोखरा ।

विगतमा पर्यटकीय नगरी मानिने पोखरा अहिले देशकै पर्यकीय राजधानी बनेको छ । तर, ‘पर्यटकीय राजधानी पोखरामा ठ्याक्कै कति पर्यटक आउँछन् ?’ भन्ने जानकारी सरकारी र पर्यटन सम्बद्ध कुनैपनि संघसंस्थाले भन्न सक्दैनन् । सबैले अनुमानित संख्या नै बताउने पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ स्वीकार गर्छन् । उनी भन्छन्, ‘यो विडम्बना छ, सबै अनुमानमै भन्ने हो । कुनै आधिकारीक तथ्यांक नै छैन ।’

पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री र विकास लम्साल पर्यटनमन्त्री हुँदा गण्डकी प्रदेशमा कति पर्यटक आउँछन् भन्ने रेकर्ड राख्ने सुरुवात भएपनि त्यसले निरन्तरता पाउन सकेन । तर, अब पोखरा महानगरले पोखरामा कति पर्यटक आउँछन् भन्ने जवाफ दिनसक्नेगरी आफूहरुले तयारी गरेको दाबी गरेको छ । आगामी १ जनवरीदेखि पोखार भित्रिने नाकामा रेकर्ड राख्ने तयरी भइरहेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिएका हुन् ।

पोखराका अगुवा पर्यटन व्यवसायीको जम्घट रहेको होटलसंघ पोखराको २१ औं अधिवेशनलाई सम्बोधन गर्दै बिहीबार उनले भने, ‘एक वर्षमा हामीकहाँ विदेशी पर्यटक र स्वदेशी पर्यटक कति आउँछन् भन्ने हामीलाई थाहा छैन । जहाजमा आउनेको संख्या थाहा होला । पर्यटन परिषदले  यसको रेकर्ड राखेको होला । तर, अब आगामी सन २०२५ को १ जनवरी देखि हामी यसको रेकर्ड राख्ने व्यवस्था मिलाएका छौं ।

त्यसको एकवर्षपछि १ जनवरीमा हामी पोखरामा एक वर्षमा कति पर्यटक आए भनेर ठ्याक्कै जानकारी दिन सक्ने छौं । दुबै नाकामा नेपाल प्रहरी र नगर प्रहरीले डाटा लिनेगरी योजना बनाएका छौं । अहिलेसम्म जहाजमा आउने, ट्रेकिङमा जाने यति भनेर अनुमानका भरमा भन्नुपर्ने अवस्था छ । १ जनवरी देखि त्यसको अन्त्य गछौं’

  • ९ कार्तिक २०८१, शुक्रबार ०९:५१ प्रकाशित