सहकारी ठगी प्रकरणको अनुसन्धानमा अवरोध नगर्न एमालेको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ नेकपा एमालेले सहकारी ठगी प्रकरणको अनुसन्धानमा अवरोध नगर्न आग्रह गरेको छ । साथै यस्ता गतिविधि नियन्त्रण गरेर स्वच्छ र निष्पक्ष न्यायिक निरुपणको वातावरण बनाउन सरकारलाई अनुरोध गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गरी संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा छानबिन अगाडि बढाउँदा प्रधानमन्त्री र सरकारका जिम्मेवार व्यक्ति तथा निकायविरुद्ध गलत आक्षेप लगाएर अनुसन्धान प्रभावित पार्न खोजेको बताएका हुन् ।

पार्टी सभापति रवि लामिछाने पक्राउपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले गरेको प्रदर्शनतर्फ संकेत गर्दै उनले भनेका छन्, ‘‘ छानबिनको प्रक्रियालाई प्रभावित गर्ने गरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण सिर्जना गर्ने काम हुनु अत्यन्त दुःखद विषय हो ।’

फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र प्रतिरक्षालाई स्वतन्त्र, भयरहित र वैज्ञानिक बनाउनु सबैको दायित्व भएको उनले बताएका छन् । ‘सबै पक्षको सकारात्मक सहयोगबाट नै अनुसन्धानको प्रक्रियालाई प्रभावकारी बनाई दोषी नउम्कने र निर्दोष कोही पनि नफस्ने कुराको सुनिश्चिता गर्न सकिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

 

  • ८ कार्तिक २०८१, बिहीबार १३:५८ प्रकाशित