रवि र छवि पक्राउ प्रकरण

अदालतमा म्याद थप सम्बन्धी बहस, सडकमा पक्ष र विपक्षमा प्रदर्शन

केन्द्रभाग मिडिया

 

पोखरा ।
सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस जिल्ला अदालत कास्कीमा जारी छ ।

कास्की जिल्ला अदालतका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा बहस चलिरहेको हो । आज अदालत खुल्नासाथ जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई म्याद थपका लागि अदालत उपस्थित गराएको हो ।

कास्की अदालतमा उनीहरुको म्याद थप भइरहेको बेला अदालत नजिकै रास्वपाका कार्यकर्ता र पीडितहरुले छुट्टाछुट्टै प्रदर्शन भइरहेको छ ।

पोखरास्थित अदालत नजिकै पर्ने वाई चोक आसपासका क्षेत्रमा रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका हुन् भने यस्तै सहकारी पीडितहरुले मुस्ताङ चोकमा प्रदर्शन गरिरहेका छन् ।

दुई पक्षको प्रदर्शनबाट हुन सक्ने सम्भावित झडपलाई ध्यानमा राखेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । रवि गत शुक्रबार पक्राउ परेका हुन् भने छवि ६ असोजमा काठमाडौंबाट पक्राउ परेका थिए ।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले लामिछाने र जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो ।

सहकारीहरुबाट रविसमेत सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनको खातामा ६५ करोड ५४ लाख रुपैयाँ गएको छानबिनले देखाएको थियो । ‘सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिन्छ,’ प्रतिवेदनको निष्कर्ष खण्डमा लेखिएको छ, ‘जसमध्ये २२ करोड ४६ लाख ३० हजार सहकारी संस्थाबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ भने ४३ करोड ७ लाख ७४ हजार ५ सय ३८ सहकारीको रकम अन्य व्यक्ति तथा संस्थाका नामबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ ।’

संसदीय समितिले सहकारी ठगी प्रकरणका गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीसहित कार्यकारी अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री तथा रास्वपा सभापति लामिछाने र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

सहकारीको रकम ठगीको आरोपमा पक्राउ परेको छविलाल जोशीलाई बुटवल लगेर सोधपुछ पछि बुधबार पोखरा ल्याइएको छ । काठमाडौंबाट पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा रहेका उनलाई सोमबार रुपन्देही लगिएको थियो । बुटवस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकमसमेत गोरर्खा मिडियामा पुर्‍याएर ठगी गरिएको आरोप जोशीमाथि छ ।

पूर्वडिआइजी समेत रहेका उनी गोरखा मिडिया नेटवर्कमा तत्कालीन लगानीकर्ता हुन् । अनाधिकृत रुपमा लगानी गरेपछि वयानको लागि रुपन्देही पुर्याइएको हो । मंगलबार र बुधबार उनीसँग सरकारी वकिलको कार्यालयमा वयान लिइएको थियो । वयान सकेपछि पुन कास्की ल्याएको हो ।

  • ८ कार्तिक २०८१, बिहीबार १३:५० प्रकाशित