आधुनिकतातर्फ अघि बढ्दै पोखरा, ट्राफिक लाइट बल्न थाले, सडक सफा गर्ने ब्रुमर भित्रियो

केन्द्रभाग मिडिया

पोखरा ।
देशको पर्यटकीय राजधानी पोखरा विस्तारै आधुनिकता तर्फ अगाडि बढेको संकेत देखिएको छ । पर्यटकीय राजधानी घोषणा भएपनि अस्तव्यस्त ट्राफिक व्यवस्थापन, धुलो धुँवासहितको प्रर्दुषण लगायतका कारण पोखरा पछिल्ला प्रविधिको प्रयोगमा निकै पछाडि परेको विश्लेषण हुनेगरेको थियो । प्राकृतिक रुपमा सुन्दर पोखरा पहिलो पटक आउँदा युरोपियन शैलीको सेवा सुविधायुक्त होला भन्ने धेरैको अनुमान हुनेगर्दछ ।

कास्की प्रहरी प्रमुख भएर हालै प्रहरी प्रधान कार्यालय सरुवा भइ गएका प्रहरी उपरीक्षक मोहन कुमार थापा आफू पोखरा आउँदा पनि पोखरा युरेपियन शैलीमा विकास भएको होला भन्ने अनुमानका साथ आएको र यहाँ त्यही अनुरुपको प्रहरी सेवा दिने योजना बनाएको स्मरण गर्छन् । जव उनी पोखरा भित्रिए तब भद्रगोल अबस्थामा पोखरा पाएको उनले अनुभव सुनाए । ‘पोखराको जस्तो चर्चा छ, त्यस्तो रहेनछ । यहाँ विधिमा चलेको केहीपनि पाइन ।

पर्यटकीय स्थलमा मापदण्ड देखि केही कूराहरुको पालना भएको पाइन । सडक र रोड फर्निचरको अवस्था पनि दयनीय देखेँ । मैले कास्की प्रहरीको नेतृत्व गर्दा आफ्नो क्षमताले भ्याएसम्म प्रहरीको तर्फबाट विधि बसाल्ने प्रयास गरेँ । मेरो हिसावमा म सफल भएँ भन्ने लाग्छ । तर, पोखरामा गर्नुपर्ने धेरै नै छ’ उनले भने ।

संयोग उनी कास्की प्रहरी प्रमुख हुँदा नै पोखरा महानगरपालिकाले ट्राफिक लाइट राख्ने काम पूरा गर्यो । तर, प्रयोगमा नआउँदै उनी सरुवा भए । एसपी थापा पोखरा हुँदा नै पोखरा महानगरले सडक सफा गर्ने ब्रुमर भित्र्याउने प्रक्रिया अन्तिम चरणमा पुर्याएको थियो । अहिले बु्रमर समेत भित्रिएको छ । यसले एक हदसम्म पोखरालाई आधुनिक पूर्वाधारलाई अंगालेको रुपमा अगाडि बढ्दै गएको सहरको रुपमा चिनाउन सफल हुने अपेक्षा गरिएको छ ।

पोखराका अग्रज पर्यटन व्यवसायी एवं युवा उद्यमी मञ्च पोखराका पूर्व अध्यक्ष वैभव पौडेल ढिलैभएपनि पोखरामा ट्राफिक लाइट सञ्चालनमा आउनु र सडक सफा गर्न ब्रुमर भित्रिनु सुखद पक्ष रहेको बताउँछन् । विश्वका अन्य सहरहरुमा ट्राफिक लाइट र ब्रुमर सामान्य भएपनि पोखराका लागि नौलो भएको उनको भनाई छ । एउटा सभ्य सहरका लागि यो आवश्यक रहेको उनले बताए । तर, यसको निरन्तर मर्मतसम्हार र प्रयोगमा ध्यान दिइनुपर्ने तर्फ उनले सचेत गराएका छन् ।

कोर पोखरा हुँदै तीन वटा राजमार्गबाट बाहिरिने भित्रीने मुख्य चोक हो । पृथ्वीचोक यही चोकमा दसैंसंगै ट्राफिक लाइट प्रयोगमा आएको छ । सृजनाचोकमा एक हप्तादेखि प्रयोगमा आएको छ । क्रमस सभागृह र महेन्द्रपुलमा पनि ट्राफिक लाइट प्रयोगमा आउने पोखरा महानगरपालिकाले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख, सोभा पाण्डेका अनुसार अहिले एउट चौकमा चार जना ट्राफिक प्रहरी र चारजना जिल्ला प्रहरी कार्यालय मार्फत खटाइएका प्रहरी मार्फत पृथ्वीचोकमा ट्राफिक लाइटको संकेत अनुरुप सवारीसाधन र पैदलयात्रुलाई समेत बानी बसाल्ने काम भइरहेको छ । पैदलयात्रु र सवारी चालकलाई समेत ट्राफिक लाइटको प्रयोगमा बानी बसाल्न अझै केही समय लाग्ने देखिएको उनले बताइन् ।

  • ६ कार्तिक २०८१, मंगलवार १४:४२ प्रकाशित