बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक जना पक्राउ, चार वालिकाको उद्धार

केन्द्रभाग मिडिया

काठमाडौं ।
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–३ घर भई काठमाडौंको मुलपानी बस्दै आएकी ४३ वर्षीय सीता गोतामे रहेकी छिन । प्रहरीले उनको घरबाट चार बालिकको उद्धार समेत गरेको छ ।

उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले २ कात्तिकमा मुलपानीबाट पक्राउ गरेको हो । उनले बन्धक बनाएर चार बालिकालाई यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी तथा प्रवक्रा गौतम मिश्रले बताए ।

उनले मुलपानीमा एक घर भाडामा लिएर घरमा भाडा माझ्ने, सरसफाइको काममा लगाउने र मासिक २० हजार रुपैयाँ दिने भन्दै बालिकालाई प्रलोभन देखाएर यौन व्यसायमा लगाएको पाइएको प्रहरीले जनाएको छ ।

बालिकालाई यौन व्यवसायमा लगाएर उनले प्रति ग्राहक १ हजारदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको दाबी प्रहरीको छ । पक्राउ परेकी महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

  • ५ कार्तिक २०८१, सोमबार १२:०४ प्रकाशित