पूर्व गृहमन्त्री लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज आइतबार जिल्ला अदालत कास्की उपस्थित गराइँदैछ । सहकारीको रकम अपचलन र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि उनी शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई हिजो सनिबार भएकाले आज कार्यालय समयमा म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइने कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

जिल्ला अदालत कास्कीले पक्राउका अनुमति दिएलगत्तै उनलाई शुक्रबार पार्टीको मुख्यालयबाटै पक्राउ गरेको थियो । रविकै आग्रह अनुसार उनलाई सडकमार्ग हुँदै शनिबार बिहान पोखरा ल्याइपुर्‍याइएको थियो ।

शनिबार दिनभर रास्वपाका नेता तथा कार्यकर्ताले दिनभरजसो पोखरामा प्रदर्शन गरे । रास्वपाका सबै नेताहरु पोखरा आइपुगेका छन् । सहकारी पीडितले समेत पोखरामा शनिबार प्रदर्शन गरेका छन् ।

आज रविलाई अदालत लैजाने समयमा समर्थक र सहकारी पीडितहरु अलगअलग प्रदर्शनको तयारी रहेको बताइएको छ । यद्यपी सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने आफूहरुको तर्फबाट त्यस्तो कुनै प्रदर्शनको तयारी नरहेको केन्द्रभागलाई जानकारी दिएका छन् । आफूहरु प्रशासनको आग्रहलाई स्वीकारगर्दै न्यायको प्रतिक्षामा रहेको उनले बताए ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै कास्की प्रशासनले आजका लागि सुरक्षा व्यवस्थालाई थप मजबुत बनाएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको मुख्य आरोप लामिछानेमाथि छ । रवि लामिछानेको नामै किटान गरेर सहकारी पीडितले २०८० माघ २२ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा पूरक जाहेरी दिएका थिए । उनीहरूकै जाहेरीका आधारमा पूरक अनुसन्धान भएर लामिछानेको समेत संलग्नता देखिएको छ ।

संसदीय छानबिन समितिले गोर्खा मिडियामा विभिन्न सहकारीका ६५ करोड रकम गोर्खा मिडिया प्रालिमा गएको र त्यसको रकम खर्च गर्दा गोर्खा मिडियाका तत्कालीन कार्यकारी निर्देशन लामिछानेको संलग्नता देखिएको छ । गोर्खा मिडिया प्रालिका सञ्चालक छविलाल जोशी ६ असोजमा पक्राउ परी कास्की प्रहरीकै हिरासतमा छन् ।

  • ४ कार्तिक २०८१, आईतवार ०७:३० प्रकाशित