पूर्व गृहमन्त्री लामिछाने कास्की प्रहरीको हिरासतमा

केन्द्रभाग मिडिया

पोखरा ।

पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राती नै स्थलमार्गबाट पोखरा ल्याएपछि उनलाई कास्की प्रहरीको हिरासतमा राखिएको हो ।

हिरासतमा राख्नु अगाडि लामिछानेलाई सिधै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की ल्याइएको हो । उनी राती करिब २ः४५ बजेतिर उनलाई कास्की प्रहरी परिसरमा प्रवेश गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

लामिछानेलाई जिल्ला प्रहरी कार्यालय ल्याउँदा कार्यालयको अघि रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्ले र केही कार्यकर्ताहरू उपस्थित थिए । अर्का उपाध्यक्ष डीपी अर्याल र पत्नी निकिता पौडेलचाहिँ लामिछानेसँग स्थलमार्गबाट पोखरा आएका हुन् । हिरासतमा पुगेर वाग्ले, अर्याल र पौडेलले लामिछानेलाई भेटेका छन् ।

लामिछानेमाथि सूर्यदर्शन लगायतका सहकारी ठगीको आरोप छ । उनलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

उनी माथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

शुक्रबार राति पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई आज शनिबार सार्वजनिक विदा भएकाले भोलि आइतबार कार्यालय समयमा कास्की जिल्ला अदालत कास्कीमा पेश गरिनेछ ।

  • ३ कार्तिक २०८१, शनिबार ०६:३४ प्रकाशित