दल फुटाउन अध्यादेश आउन सक्ने विपक्षी दलहरुको आशंका

केन्द्रभाग मिडिया

काठमाडौं ।

विपक्षी दलहरूले सरकारले दल फुटाउन अध्यादेश ल्यान सक्ने आशंका गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएको विपक्षी दलहरूको बैठकमा यस्तो आशंका सार्वजनिक गरेका हुन् ।

बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर सरकारमै रहेका साना दलसमेत फुटाउन लागेको भन्ने आशंका आफूहरूलाई लागेको बताए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै श्रेष्ठले भने, ‘संसद् हुँदाहुँदै अध्यादेशबाट काम गर्ने नेचर हो उहाँको । साना दलहरू र उहाँले पूर्वाग्रह राख्ने दलहरूलाई तोड्नका लागि अध्यादेश ल्याउने कुरामा हामीहरूलाई ठूलो शंका थियो । पहिला पनि गरिसक्या भएर मुख्य रूपमा त्यही विषयमा बैठक बसेको हो ।’

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाल, लोसपा र आजपाका नेताहरू सहभागी थिए । लोसपा चाहिँ सत्तारुढ दल हो । बैठकमा रास्वपा सभापति लामिछाने, उपसभापतिद्वय स्वर्णीम वाग्ले र डोलप्रसाद अर्याल, सांसदहरू विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ र शिशिर खनाल सहभागी थिए ।

  • २ कार्तिक २०८१, शुक्रबार १३:३१ प्रकाशित