पोखरा ।
कोजाग्रत पूर्णिमाको अवसरमा पर्यटकीय राजधानी सहर पोखराको फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। ताल बाराही मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ देशका विभिन्न भागबाट दर्शनार्थीहरू पोखरा आएका छन् । दर्शनका लागि फेवातालमा डुंगा चढेर मन्दिर जानेहरूको बिहीबार बिहान सबेरैदेखि घुइँचो छ ।
घुइँचो बढेपछि डुंगा व्यवसायीहरूले समेत थप डुंगाको व्यवस्था गरेर दर्शनार्थीहरूलाई ओहोर दोहोर गराएका छन् । ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका कार्यालय सचिव लक्ष्मण पहारीका अनुसार पूर्णिमाका दिन आज मात्रै ३० हजार भन्दा बढी दर्शनार्थीहरूले मन्दिरको दर्शन गर्नेछन् ।
फेवातालको बीचमा रहेको यो मन्दिरमा दशैं पूर्णिमामा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने मान्यताका कारण पनि दर्शनार्थीहरूले दर्शन गरेको उनको भनाई छ । अन्य दिनको तुलनामा आजको दिन यस मन्दिरको महिमा बढी भएकोले नै आजको दिन मेला लाग्ने गरेको हो ।
यसअघि विन्ध्यबासिनी, भद्रकाली, गुप्तेश्वर लगायतका मन्दिरमा भीड हुने गरे पनि आजको दिन भने फेवातालको बीचमा रहेको मन्दिर तालबाराहीको दर्शन गर्नैपर्ने मान्यताले दर्शनाथीै पुग्ने गरेका छन् ।
दशैंको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दसैं घर र कोतहरूमा राखिएका जमरा आज विसर्जन गरिन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा तालबाराही मन्दिरमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ ।
यता ताल बाराही चोक देखि तालसम्मको सडक बीचमै मेला लागेको छ । लत्ताकपडा किन्नेहरुको भिड देखिन्छ भने बेच्ने अधिकांश भारतिय व्यपारी छन् ।














