काठमाडौं ।
साफ वुमन्स च्याम्पियनसिप फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ उद्घाटन खेलमा समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा गर्नेछन् ।
सर्वाधिक ५ पटकको विजेता भारत पछिल्लोपटक सेमिफाइनलबाटै बाहिरिएको थियो । त्यही हारको पीडालाई बिर्साउँदै यसपटक भारत उपाधि जित्ने लक्ष्यमा छ । अशलतादेवीको कप्तानीमा रहेको भारतीय टोली यसपटक बलियो छ । टिममा सिनिय र जुनियर खेलाडीको मिश्रण छ भने गोलमेसिन बाला देवीले यस पटक साफमा पुनरागमन गरेकी छन् । नयाँ प्रशिक्षक सन्तोष कश्यपले टोली सम्हालेका छन् । यस पटक भारतीय टिममा धेरै खेलाडी परिवर्तन भइसकेको छ ।
मुख्य प्रशिक्षक सन्तोष कश्यपले साफ वुमन्स च्याम्पियनसिप आफ्नो लागि नयाँ भए पनि टिम राम्रो रहेको र लक्ष्य उपाधि जित्ने भएको बताए ।
भारतीय कप्तान अशलतादेवीले पाकिस्तानविरुद्धको खेल खेल्दै एक सयौं अन्तर्राष्ट्रिय खेल पूरा गर्नेछिन् । अशलताले एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्नका लागि आफू उत्साहित रहेको बताइन् ।