सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई वटा उजुरी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी परेको छ । मङ्गलवारसम्म उजुरी दिने समय रहेकोमा एउटा इमेलबाट र एउटा लिखित रूपमा उजुरी परेको संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछानेले जानकारी दिइन् ।

अर्का प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेविरुद्ध भने उजुरी नपरेको उनले बताइन् । गत असोज १५ गते सुनुवाइ समितिले सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशहरू निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो । दसैँ मानेर सांसदहरू काठमाडौँ आइसकेपछि बैठक राखेर उनीहरूमाथि संसदीय सुनुवाइ गर्ने तयारी रहेको छ ।

निरौलाविरुद्ध एउटा उजुरी सर्वोच्च अदालतको भवन निर्माणमा अनियमितता गरेको दावी गरिएको छ। अर्को उजुरीमा उनी मुख्य रजिस्ट्रारबाट सिधै आएको र अन्य योग्यलाई छोडेर सर्वोच्च ल्याइएको भनी उजुरी परेको छ। सर्वोच्च अदालतको भवन निर्माण गर्दा महाअभियोग लागेर निलम्बनमा परेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वमा थिए भने मुख्य रजिस्ट्रारको रूपमा निरौला थिए ।

उनी राणाकै समयमा उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस पनि भएका थिए । समितिले अब उजुरीहरूलाई खोलेर सुनुवाइ सुरु गर्नेछ ।

  • ३० आश्विन २०८१, बुधबार १५:२९ प्रकाशित