पोखरा ।
मूख्य पर्यटकीय सिजन सुरु हुँदासमेत पर्यटक नआएर निरास बनेका देशकै पर्यटकीय राजधानी सहर पोखराका पर्यटन व्यवसायी दसैंलगत्तै पर्यटकको चहलपहल बढेपछि उत्साहित भएका छन् । मूख्य पर्यटकीय सिजनमा बाढीपहिरो पुर्याएको क्षति र हिले दसैं हुने मौसम पूर्वानुमानका बीच दसैं लगत्तै पर्यटकको आगमन बढ्दा आफूहरु उत्साहित भएको होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले बताए । ‘टीकाको भोलिपल्ट र पर्सीपल्ट पर्यटकको आगमन राम्रो भयो ।
अहिलेपनि राम्रै छ । मुख्य पर्यटकीय सिजनमै भारी वर्षाले निम्त्याएको विपत्तिले निरासा छाएको थियो । हिले दसैं हुने मौसम प्रक्षपणले घुम्न निस्कने पर्यटक पनि दुविधामा थिए । तरपनि आगमन राम्रो हुँदा उत्साहित छौं’ उनले भने ।
होटल संघ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार दसैंको बेला होटल अकुपेन्सी ७० प्रतिशतसम्म पुगेको थियो । आन्तरिक र बाहीय पर्यटक दुबै बढेका उनले जानकारी दिए । अहिले पोखरामा ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत भारतीयसहित अन्य मुलुकका रहेको उनले बताए ।
अहिले पोखराका होटल अकुपेन्सी ५० प्रतिशत छ । ट्रेकिङ सिजन समेत रहेकाले अब केही समय अहिलेकै हाराहारीमा पर्यटक पोखरा रहने उनले जानकारी दिए । ‘ट्रेकिङको सिजनपनि हो । बाहिय मुलुकका पर्यटकहरु पनि छन् । आन्तरिक पर्यटक पनि छन् । अब केही समय होटल अकुपेन्सी ५० प्रतिशतकै हाराहारी रहन्छ’ उनले भने ।
नियमित अन्तर्राष्ट्रिय उडान र पोखरा मुग्लिङ स्तरोन्नतिको पर्खाइ
देशको पर्यटकीय राजधानी पोखरा निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रि उडान र पृथ्वी राजमार्ग स्तारोन्नति सम्पन्नको प्रतिक्षामा यहाँ पर्यटन व्यवसायी छन् । यस क्षत्रमा मात्र झण्डै ६ खर्बभन्दा धेरै लगानी छ । पोखरा र पेरिफेरीमा पर्यटकीय स्तरका एक हजार दुई सय होटल छन् । ति होटलमा ४० हजारजनालाई बास बसाल्न सक्ने क्षमता रहेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन् ।
होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली पोखरा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान र पृथ्वी रामार्जको स्तरोन्नतिको काम सकिने प्रतिक्षामा पोखरेली पर्यटन व्यवसायी रहेको बताउँछन् । विमानस्थल बन्नेभएसंगै त्यसैलाई आधार बनाएर यहाँ होटलसहितका पूर्वाधार थपिएका हुन् ।
विमानस्थल बनेर अन्तर्राष्ट्रिय उडान सञ्चानल नहुँदा व्यसायी निरास छन् । त्यसमाथि पृथ्वी राजमार्ग निर्माणको काम समयमा नसकिँदा व्यवसायी झनै मर्कामा परेको उनले सुनाए । छिटोभन्दा छिटो पृथ्वी राजमार्गको स्तरोन्नतिको काम सकिनुपर्ने र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनुपर्ने उनले बताए । त्यसो हुनसके पोखरासहित गण्डकीकै पर्यटन क्षेत्रले निकै फड्को मार्ने उनको भनाई छ ।