डडेल्धुरा बस दुर्घटना अपडेट: ज्यान गुमाउनेको संख्या पाँच पुग्यो, घाइते १२ जनालाई थप उपचारका लागि धनगढी पठाइयो

केन्द्रभाग मिडिया

डडेल्धुरा ।
डडेल्धुरामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुुगेको छ । घटनास्थलमा थप एकजनाको शव फेला परेसँगै ज्यान गुमाउनेको संख्या पाँच पुगेको हो । बैतडीको पुर्चौडी नगरपालिका १० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।

उनका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको हो । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस राति साढे १२ बजे डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा ज्यान गुमाएका अन्य चारजनाको पनि यसअघि नै सनाखत भइसकेको छ । पुर्चौडी–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, दुई दिनको शिशु , २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिए । दुर्घटनामा अन्य ११ जना पनि घाइते छन् ।

 

  • ३० आश्विन २०८१, बुधबार १२:०५ प्रकाशित