काठमाडौं ।
हनी ट्र्याप प्रकरणमा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर प्रहरी प्रमुख शेखर खनालले पक्राउ पुर्जी जारी भएको पुष्टि गरे । स्रोतका अनुसार दशैँ अगावै पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ पुर्जी जारी भएकाले अब शाहीलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने बाटो खुलेको एसएसपी खनालले बताए । ‘हामी खोजिरहेका छौँ’, उनले भने । यो प्रकरणमा एक जना सहायक हवलदारसहित ४ जना पक्राउ परेका छन् । सहायक हवलदार भैँसेपाटी वृत्तमै कार्यरत थिए ।
हनी ट्र्यापको घटनामा बलात्कारको कसुर लगाएर फसाइदिने भन्दै इन्स्पेक्टर शाहीले पीडित भनिएका व्यक्तिसँग ३० लाख रुपैयाँमा डिल गरेको आरोप लागेको छ । पीडितले नै प्रहरीलाई भनेपछि घटनाबाहिर आएको थियो ।
घटना बाहिर आएपछि इन्स्पेक्टर शाहीलाई जिम्मेवारीबाट हटाएर महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको थियो । त्यहीँ रहँदा उनी निलम्बनमा परेकी थिइन् । शाही निलम्बनमा रहेकाले उनी कहाँ छिन् भन्नेबारे थाहा नभएको जवाफ प्रहरीले दिइरहेको छ ।














