रास्वपाको पहिलो महाधिवेशन : चैत पहिलो साताभित्र जिल्ला अधिवेशन सक्ने तयारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनको तयारीमा जुटेको छ । पार्टीले महाधिवेशन केन्द्रित भएर वडा तहबाट अधिवेशन सुरु गरिसकेको छ ।

पार्टी सङ्गठन विभागका अनुसार करिब ४ सय वडाको अधिवेशन सम्पन्न गरेको रास्वपाले यही कार्तिक १ गतेबाट जिल्ला भेलाहरूलाई निरन्तरता दिने तयारी गरेको छ । महाधिवेशनका लागि वडा तहबाटै अधिवेशन सुरु गर्ने रास्वपा विधानमा लेखिएको छ ।

पार्टीको संशोधित विधान अनुसार पार्टीले तल्ला तहका अधिवेशनलाई निरन्तरता दिएको सङ्गठन विभाग सचिव शंकर श्रेष्ठले बताए । सोही अनुसार दसैँ अघि प्युठान जिल्लाको अधिवेशन सम्पन्न भइसकेको उनले बताए । कार्तिक १ बाट बाँकी रहेका जिल्लाहरूको भेला निरन्तर अघि बढाउने तयारी पार्टीले गरिसकेको उनले बताए ।

पार्टीले माघपछि नसकिएका वडा तथा पालिका अधिवेशन स्थगन गर्ने तयारी गरेको छ । माघभित्र जति स्थानीय तहमा अधिवेशन सकिन्छ सम्पन्न गर्ने र बाँकी रहेका स्थानमा केन्द्रीय महाधिवेशन पश्चात् अधिवेशन गर्ने गरी तयारीमा पार्टी सङ्गठन विभाग छ ।

  • २९ आश्विन २०८१, मंगलवार १६:४७ प्रकाशित