यस वर्ष दशैंमा मुस्ताङमा १६ करोडको भेडाच्याङ्ग्रा बिक्री

केन्द्रभाग मिडिया

म्याग्दी ।

यस वर्षको दसैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडाच्याङ्ग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङ्ग्रामध्ये चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङ्ग्रा बिक्री भएको हो । ‘मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा रु २८ हजारदेखि ३८ हजारका दरले च्याङ्ग्रा बेचेका छन्’, उनले भने, ‘सरदर मूल्यअनुसार रु १६ बराबरको च्याङ्ग्रा बिक्री भएका छन् ।’

गत वर्ष सात हजार भेडाच्याङ्ग्रा बिक्री भएको थियो । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायतका जिल्ला तथा सहरमा मुस्ताङका भेडाच्याङ्ग्रा बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपालि भेडाच्याङ्ग्राको व्यापार राम्रो भएको व्यापारीहरूले बताएका छन् ।

जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोसिलो, तागतिलो र स्वस्थ मानिन्छ भएकाले दसैँ तिहारमा हिमाली च्याङ्ग्राको मासुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताए ।

  • २९ आश्विन २०८१, मंगलवार ०८:४६ प्रकाशित