पोखरा ।
पोखरामा राँगोले हानेर एक जनाको ज्यान गुमेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा ३३ का धनन्जय आचार्यको राँगोले हानेर ज्यान गुमेको हो ।
पोखरा महानगरपालिका ३३ स्थायी घर भएका आचार्यको आफ्नै माइला दाजुको सुरौदीस्थित भैंसी फारममा पालो दिन गएका बेला राँगोको आक्रमणमा परी ज्यान गुमेको कास्की प्रहरी प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए । धनञ्जयका जेठा दाजु शिव आचार्य पोखरा ३३ का पूर्व वडाध्यक्ष हुन् ।
माइला दाजु आफ्ना जेठानको निधन भएकाले अन्त्येष्ठिमा जानुपर्ने भएकाले गोठको रखबारी गर्न मंगलबार धनञ्जय गएका थिए । स्कुल बिदा भएको भन्दै धनञ्जय आफैले गोठमा जान रहर गरेको आफन्तहरु बताउँछन् । धनञ्जय पोखराको बिरौटामा बस्थे । पोखरा ३३ कै जनचेतना माविका स्थायी शिक्षक उनी बिहान पोखराकै सिर्जना बोर्डिङ स्कुलमा पढाउँथे ।
मंगलबार नै शवको पोस्टमार्टम गरी अन्त्येष्टि समेत गरिसकिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।