‘सुकिलो नोटको प्रयोगले देशका लागि करिव डेढ अर्ब जोगियो’

केन्द्रभाग मिडिया

नेपाल राष्ट्रबैंक पोखराका निर्देशक विना ढकाल पौडेलले यस वर्ष नयाँ नोटको   सट्टा सुकिलो नोटको प्रयोग गर्दा राज्यको करिव डेढ अर्ब रुपैयाँ जोगिएको बताएकी छन् । केन्द्रभागसंगको  कूराकानीको क्रममा उनले यस्तो बताएकी हुन् । उनले दशैंपछि साना नोटको व्यवस्थापनमा पनि सहज हुने जानकारी दिइन् । नयाँ नोट निकाल्नुको सट्टा सफा नोट नै प्रयोगमा ल्याउँदा ग्राहक, बैकं वित्तीय संस्था र सर्बसाधारण सबै खुशी भएको उनको दाबी छ ।  निर्देशक विना ढकाल पौडेलसंगको कूराकानीको सम्पादित अंश

राष्ट्रबैंकले यसपाली नयाँ नोट निकालेन, सफा नोटले नै काम चलाउन भनियो । किन यस्तो निर्णय भएको होला ?

बिगतमा दशैंको बेला साना नोटहरुको अत्याधिक सप्लाई हुन्थ्यो । दशैंपछि सर्वसाधारणले त्यसलाई डिपोजिट गर्न ल्याउनुहुन्यो । बैंकमा लिमिटेड स्पेस हुँदा व्यवस्थापन गर्न गार्हो हुन्थ्यो । यो कूरा बैंकरहरुले पनि औपचारिक अनौपचारिक कार्यक्रममा व्यवस्थापनमा समस्या रहेको सुनाउनुहुन्थ्यो । अहिले हामीले नयाँ नोट वितरण नगर्ने नीति लियौैं । बैंक तथा वित्तीय संस्थाले पनि नयाँ नोट वितरण नगर्ने नीतिको स्वागत गर्नुभएको छ ।

यसपाली सुकिलो नोटको प्रयोग गर्दा पहिलो कूरा नोटको जतन भयो, दोस्रो कूरा उल्लेख्य रुपमा लाग्ने गरेको छपाई खर्च मितव्ययी भयो । तेस्रो कूरा दसैं लगत्तै साना नोटको व्यवस्थापन गर्ने दृष्टिकोणले समेत यो निकै उपयोगी हुनेछ । यस वर्षको यो निर्णयको बैंकर र सर्वसाधारणले समेत स्वागत गर्नुभएको पाएका छौं ।

नयाँ नोट छपाउन धेरै लागत लाग्छ । नोट बजारमा गएपछि अबिर, अक्षता र पानीका कारण क्षति हुने भएकाले देशकै रिसोर्स प्रयोग हुन्थ्यो । नयाँ नोट ननिकाल्दा त्यो पनि जोगिन्छ भन्ने र सफा नोटको कार्यान्वयन गर्ने नीतिका कारण यसपाली नयाँ नोट बजारमा नल्याइएको हो ।

नयाँ नोट नपाउँदा सफा नोट साट्नेहरु कम आएकी ?

हामीलाई पनि कम आउनुन्छ की भन्ने लागेको थियो । तर त्यस्तो भएन । सटही गरेको मितिबाट पहिलो चरणमा बैंक वित्तिय संस्थालाई खुद्रा नोट सप्लाई गरेका थियौं । ११ असोजबाट सर्वसाधारणलाई पनि नयाँ नोट सटहीको व्यवस्था गर्यौं ।

यो सुविधा हामीले मंगलबारसम्मका लागि दिएका थियौं । पछि फेरी आज (बुधबार) सम्मपनि सेवा दिएका छौं । यो समयसम्म (बुधबार करिब १ बजे) गण्डकीमा ५३ करोड रुपैयाँ सना दरका नोट सप्लाई गरेका छौं । कार्यालय अबधीभरमा ६५ करोड सप्लाई हुने अनुमान गरेका छौं ।

नयाँ नोट छपाईमा कति खर्च हुन्थ्यो, त्यो पनि जानकारी दिनुहुन्छ ?

नयाँ नोटमा जति धेरै सुरक्षा विशेषता हुन्छ । त्यति नै बढीखर्च हुन्छ । हजारको दरमा एउटा नोट निकाल्दा करिव पौने ५ रुपैयाँ खर्च हुन्छ । ५ सयको नोटमा पनि तयस्तै हुन्छ । सानो दरको नोटमा केही कम दुइ देखि तीन रुपैयाँ खर्च हुन्छ । दशैंको बेला सानो दरको नोटको मात्र छपाई खर्च करिब डेढ अर्ब रुपैयाँ लाग्थ्यो । यसपाली त्यो जोगिएको छ । यसलाई जोगाउन सक्दा कहीँ न कहीँ विकास निर्माणमा प्रयोग गर्न सकिन्छ । यो देशकै लागि फाइदा पुग्ने कूरा हो ।

नोटको जतन कसरी गर्ने बताइदिनुहुन्छ ?

नोट प्रयोग गर्दा हात पुछेर प्रयोग गर्ने, अक्षता र अविर नलगाउने, पानीमा नहाल्ने अनि ठूलो नोटलाई पनि राख्दा कच्याककुचुक पारेर नराख्ने । वालेटको प्रयोग गर्ने । फोहोर नगर्ने यही नै हो ।

अन्त्यमा केही भन्नुहुन्छ ?

सबैमा मेरो आग्रह सानो दरको मात्र होइन, ठूलो दरको नोटको पनि जतन गरौं । यसपाली नयाँ नभएपनि सुकीलो नोट लिएर दशैं मनाऔं । सबैलाई दशैंको शुभकामना व्यक्त गर्न चाहुन्छु ।

 

  • २३ आश्विन २०८१, बुधबार १७:३४ प्रकाशित