पोखरा ।
गण्डकी प्रदेशको राजधानी पोखरामा जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका र यहाँ रहेका यातायात व्यवसायी कम्पनीको सहकार्यमा टीकाको दिन निःशुल्क बस सेवा सञ्चालन हुनेभएको छ । टिकाको दिन विहान सात बजेदेखि साँझ ४ बजेसम्म सात वटा रुटमा १८ वटा सावारीसाधन बाट सेवा दिइने बुधबार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिइएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार पोखरा महानगरपालिकाले बसका चालक सहचालकका लागि सो दिनको भत्ता उपलब्ध गराउनेछ । जिल्ला प्रशासनले सहजिकरण गर्ने र व्यवसायीहरुले आफ्ना गाडी निःशुल्क रुपमा चलाउने छन् ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले तीन वटा बस मार्फत फेदी देखि हेम्जा, हरिचोक हुँदै पृथ्वी चोकसम्म सेवा दिनेछ । स्थानीय यातायात कम्पनीले कोत्रेदखि पृथ्वीचोकबाट चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म सेवा दिनेछ ।
सबैभन्दा धेरै पोखरा यातायात प्रालिले ३ वटा रुटमा ३ वटाका दरले ९ वटा सवारीसाधन मार्फत सेवा दिनेछ । पोखरा यातायात प्रालिले लामाचौर, बगर, महेन्द्रपुल, विरौटा हुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा, महेन्द्रपुल, चिप्लेढुंगा हुँदै लेकसाइडसम्म र काहुँखोला पृथ्वीचोक हुँदै हल्लन चोकसम्म सेवा दिनेछ ।
बेगनास पोखरा यातायात प्रालिले दुई वटा रुटमा दुईवटाका दरले ४ वटा सवारी मार्फत सेवा दिनेछ । बेगनास ताल, तालचोक, पृथ्वीचोक हुँदै बागलुङ बसपार्क, र राजाको चौतारा, सातमुहाने, खुदी हुँदै बागलुङ बसपार्कसम्म सेवा दिनेछ ।
पोखरा महानगरपालिका यातायात व्यवस्थापन उपसमितिका उपाध्यक्ष एवं पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले १८ वटा सवारी साधन प्रयाप्त नभएपनि राम्रो सुरुवात भएको बताए । आगामी दिनमा यस्तोखालको सहकार्यले निरन्तरता पाउने अपेक्षा गरे । मजदूरको राजिरोटीको विषय सम्बेदनशिल भएकाले उनीहरुको भत्ता व्यवस्थापन महानगरले गरेको उनले बताए ।
समाजिक उत्तरदायित्व बहन गर्न, सर्वसाधारण यात्रुको सेवा गर्न र राज्यप्रति आफूहरुको पनि दायित्व रहेको बोध गराउन प्रशासनसंग सहकार्य गरेर सेवा दिइएको यातायात व्यवसायीहरुले बताएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष एवं यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्रबहादुर केसीले सधै व्यवसायमात्र नभई राज्यलाई आवश्यक परेको बेला सहयोग गर्न र समाजिक उत्तरदायित्व बहनका लागि टिकाको बेला बस सेवा सुरु गर्न समझ्दारी गरिएको बताए । उनले देशका अन्यभागमा पनि पोखराको मोडेलको अनुसरण हुने अपेक्षा राखे ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष सोभामोहन पौडेलले आफ्ना यात्रुबहाक सवारीसाधन १३ जना मात्र यात्रु बोक्ने क्षमता भएकाले आफूहरुले पनि योगदान दिन १५० लिटर डिजल उपलब्ध गराउने जानकारी दिए । पोखरा यातायात प्रालिका प्रवन्धक देवि कुइकेलले आफ्नो कम्पनीको तर्फबाट ९ वटा बस सञ्चालन गरिने र प्रशासनको सहकार्यमा आवश्यक परेमा थप्न समेत तयार रहेको बताए ।