पोखरा ।
यातायात व्यवसायीले चाडपर्वका बेला आफ्नो घर फर्कने सरकारले सर्बसाधारण यात्रु र यातायात व्यवसायीलाई हतोत्साहित बनाएको बताएका छन् । यात्रुबहाक बस सञ्चालन गर्ने ठूलो यातायात कम्पनी मध्यको एक पृथ्वी राजमार्ग बस सञ्चाल कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
विज्ञपितमा, ‘मौसममा केही सुधार आएपछि सडक मर्मतसम्भार गरी निम्न तथा मध्यम वर्गीय यात्रुहरूलाई चाडपर्वको बेला व्यवसायीले गर्न खोजेको व्यवस्थापनमा समेत अनुगमनका नाममा यात्रु र व्यवसायीलाई हतोत्साहित पारिएको विज्ञप्तिमा उल्लेख छ । साथै यात्रु चापको अवस्थामा मात्र मौकाको अनुचित फाइदा उठाउने गरी आन्तरिक उडान थप गर्ने र चर्को भाडा दरमा यात्रुहरुलाई गन्तव्य तर्फ जान बाध्य बनाइएको कम्पनीले ठहर गरेको छ । ग्रामीण दूरदराजमा जानुपर्ने यात्रुहरु बसपार्कहरुमा अलपत्र हुन बाध्य भएका छन् । ग्रामीण कच्ची सडक सञ्जाल भएको क्षेत्रमा सवारी साधन पुऱ्याउन अति जोखिमयुक्त छ । कैयौं सडकहरू यातायात व्यवसायीहरूले आफ्नै लगानीमा मर्मत सम्भार गरेर यात्रुहरुलाई गन्तव्यमा पुऱ्याउने कोसिस गरिरहेका छन् भने पर्याप्त सवारी साधन नभएका ठाउँमा एक दुई जना यात्रु मिलीजुली जानेगरी बस चढ्दा अनुगमनका नाममा दण्डजरिवाना गरिएको छ। जसका कारण यात्रु उपभोक्ता र व्यवसायीहरु मारमा परेका छन्’, उल्लेख छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले हालै भएको वर्षाका कारण ज्यान गुमाएका उपभोक्ता यात्रु, मजदुर तथा सर्वसाधारण प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट प्रकट गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरूको खोजी गर्न, भत्किएका संरचनाहरु पुनः निर्माण, नागरिकहरुको भौतिक संरचना र सम्पत्तिको क्षतिपूर्ति र दैनिक गासबासको बन्दोबस्त तिब्र बनाउन सम्बद्ध निकायहरुसँग अपिल समेत गरेको छ ।
ग्रामीण कच्ची सडक सञ्जाल भएको क्षेत्रमा सवारी साधन पुऱ्याउन अति जोखिमयुक्त रहेको उल्लेख गर्दै कैयौं सडकहरू यातायात व्यवसायीहरूले आफ्नै लगानीमा मर्मत सम्भार गरेर यात्रुहरुलाई गन्तव्यमा पुऱ्याउने कोसिस गरिरहेको बताउँदै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले सेवा सञ्चालन क्षेत्रमा कुनै पनि यात्रुले टिकट नपाएको वा घर जान नपाएको गुनासो आफूहरुसंग नआएको बताए । उनले गुनासो आउन नदिने कुरामा तयारी गरेको भन्दै कुनै भ्रममा नपर्न यात्रुलाई आग्रह गरेका छन् ।
राज्य जिम्मेवार बन्नुपर्नेमा गैरजिम्मेबार रहेको उल्लेख गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘भत्किएका सडकहरूको मर्मत सम्भार तथा झण्डै शतप्रतिशत निजी क्षेत्रको लगानी ओगटेको सार्वजनिक यातायात क्षेत्रको लगानी त्यसको प्रतिफल, बैंक एवं वित्तीय संस्थाहरूको कर्जा लगानीको व्यवस्थापन र निजी क्षेत्रका व्यवसायीहरूको लगानी तर्फ राज्यले प्रदान गर्नुपर्ने अभिभावकत्व शुन्य रहने गरेको छ । राज्यले स्वदेशी उद्योगीहरुका लगानीको संरक्षण र उचित व्यवस्थापन गरी प्रोत्साहन गर्नुको सट्टा तिनै व्यवसायीहरुलाई हतोत्साही गर्ने र ठूला तथा विदेशी लगानीकर्ताको संरक्षण र पक्षपोषण गर्न सरकार लागि परेको महसुस गरेका हामी यातायात व्यवसायीहरूले आफ्नो लगानी डुब्दै गरेको अवस्थामा हाम्रो व्यथालाई कुनै सुनुवाई नगर्ने हो भने आ-आफ्ना सवारी साधनहरू घर ग्यारेजमा खडा गरी सेवा बन्द गर्न बाध्य हुने व्यहोरा समेत यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछौ ।’