पोखरा ।
पृथ्वी राजमार्ग बस संचालक कम्पनीले दशैंमा यात्रुले टिकट नै नपाउने अवस्था आफुहरुले आउन नदिने बताएको छ ।
नेपाली हिन्दु धर्मालम्बीको महान चाड बडा दशैं, दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमो शुभकामना सन्देश जारी गर्दै कम्पनीले सो प्रतिवद्धता जनाएको हो ।
कम्पनीका अध्यक्ष योगेन्द्र के.सीद्धारा हस्ताक्षरित शुभकामना सन्देशमा सडक मर्मतसम्भार गरी यात्रुहरुलाई चाडपर्वको बेला सहजर तरिकाले घर जाने व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ ।
चाडबाडका बेला पुजीपति वर्गको पक्षपोषण हुने गरी यात्रुको चापको मौका छोपी आन्तरिक उडान थप्ने, चर्को भाडा असुल्ने गरिएको र ग्रामीण दुरदराजमा जानुपर्ने यात्रुहरुका बसपार्कहरुमा अलपत्र हुन बाध्य भएको भन्दै कम्पनीले सन्देशमार्फत गुनासो गरेको छ ।
यस्तै कम्पनीले अनुगमनका नाममा बस व्यवसायीमाथि अनावश्यक दण्डजरिवाना गरिएको र कपोकल्पित समाचारहरु सम्प्रेषण गरि भ्रम सिर्जना गरेको भन्दै भत्र्सना गरेको छ ।
कम्पनीले सार्वजनिक तथा निजी यातायात क्षेत्रका व्यवसायीहरुको लगानीतर्फ राज्यको अभिभावकत्व शुन्य रहेको उल्लेख गरेको छ ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले आफुहरुले राखेको गुनासो तथा मागहरुको सुनुवाई समयमै नगरे आफ्ना सवारी साधनहरु घर ग्यारेजमा थन्काएर सेवा बन्द गर्न बाध्य हुने भन्दै चेतावनी दिएको छ ।
शुभकामना सन्देशमा पछिल्लो समय आएको प्राकृतिक विपत्तीले पुर्याएको क्षतिप्रति दुख व्यक्त गरिएको छ ।
प्रकोपमा परी ज्यान गुमाएका यात्रु,मजदुर तथा सर्वसाधारण प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना र बेपत्ताहरुको खोजीलाई तीव्र बनाउन सरकारसँग माग गरिएको छ ।
दशैंको मुखमा नागरिक घरबारहिन बनेको तर्फ ध्यानाकर्षण गराउँदै नागरिकको भौतिक संरचना, सम्पत्तिको क्षतिपूर्ति, दैनिक गासबासको बन्दोबस्त यथाशक्य चाडो गरिदिन सम्बन्धित निकायहरुलाई कम्पनीले अपिल गरेको छ ।