दशैंलाई सुरक्षित बनाउन देशभर ६० हजार प्रहरी परिचालन

केन्द्रभाग मिडिया

काठमाडौं ।

 नेपालीहरुको महान चाड बडा दशैंलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले देशभर ६० हजार प्रहरी जनशक्ति परिचालन गरेको छ ।

७९ हजार ५४१ दरबन्दी रहेको नेपाल प्रहरीमा अहिले करिब ४ हजार दरबन्दी रिक्त छ । जसमध्ये देशभर दशैं सुरक्षाका लागि भनेर ६० हजार प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले बताए ।

‘अति आवश्यक काम बाहेकका प्रहरी कर्मचारीलाई यो पटक दशैंमा बिदा छाडिएको छैन । सकेसम्म सुरक्षित दशैं बनाउने योजना प्रहरी प्रधान कार्यालयको छ । सोही अनुसार जनशक्ति परिचालन गरेका छौं’, उनले भने ।

बाढी पहिरोबाट क्षति भएका जिल्लाहरुमा कार्यरत प्रहरी कर्मचारीलाई राहत, पुनर्स्थापनालगायतको काम बाँकी नै रहेकाले अहिले अति आवश्यक बाहेकहरुलाई बिदा छाडिएको छैन ।

६० हजार प्रहरीमध्ये केही प्रहरी भने सादा पोशाकमा सूचना संकलनका रुपमा खटिएका छन् । उनीहरुले अपराध हुने वा हुनसक्ने स्थानहरुमा खटिएर सूचना संकलनको कामदेखि अपराध भइहालेमा अनुसन्धानको काममा समेत खटिने छन् ।

देशभरका ७७ जिल्लामा परिचालन भएका ६० हजार प्रहरीले जनताको जिउधनको सुरक्षा गर्नुका साथै केही भइहालेमा जतिसक्दो चाँडो घटनास्थल पुग्ने व्यवस्था समेत मिलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त पारिएकाले ढुक्क भएर दशैं मनाउने अवस्था रहेको डीआईजी कार्कीको भनाइ छ ।

 दशैंमा हुनसक्ने सम्भावित अपराध

प्रहरीले दशैंका बेला चोरी, डकैती, कुटपिट जुवातास, मदिरा सेवन गरी झैझगडा हुने जस्ता घटना हुने अनुमान गरेको छ ।

शहरी इलाकाहरुमा चोरी बढ्न सक्ने प्रहरीको आँकलन छ । दशैं मनाउन धेरै मानिस घर तथा कोठामा ढोका लगाएर गाउँ फर्कने हुनाले शहरमा चोरी बढ्न सक्ने प्रहरीको अनुमान छ ।

त्यसैगरी लुटपाट तथा कुटपिट, स्न्याचिङ, डकैतीजस्ता अपराधहरु पनि बढ्न सक्ने आँकलन प्रहरीको छ ।

  • २२ आश्विन २०८१, मंगलवार १५:०० प्रकाशित