बिपी राजमार्गमा एक हप्ताभित्र सवारी चल्छ : गृहमन्त्री लेखक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

गृहमन्त्री रमेश लेखकले विपद्का कारण अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने बताएका छन् ।

बाढी, पहिरो प्रभावित जिल्लाको मंगलबार स्थलगत अवलोकन गर्न सिन्धुलीको खुर्कोट पुगेका मन्त्री लेखकले स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै विपद्बाट सबैभन्दा बढी क्षति भएको बिपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको बताएका हुन् ।

‘बिपी राजमार्गमा धेरै क्षति भएको छ, एक हप्ताभित्र डाइभर्सजनसहित सवारी चलाउने व्यवस्था हुन्छ’, मन्त्री लेखकले भने, ‘यहाँका अवरुद्ध भित्री सडक सञ्चालनदेखि पुल निर्माणसम्म सेनाको धेरै ठुलो भूमिका देखिएको छ ।’

विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागिपरेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो यो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

त्यसक्रममा मन्त्री लेखकले पालिकाहरूलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रह समेत गरे ।

‘लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि १५ देखि २० हजार र अस्थायी आवास निर्माणमा पहिलो किस्ता स्वरूप २५ हजार दिन्छौ’ उनले भने, ‘त्यसका लागि प्रभावित जिल्लाका पालिकाहरूले चाँडोभन्दा चाँडो लाभग्राही विवरण पठाइदिनुपर्‍यो ।’

  • २२ आश्विन २०८१, मंगलवार १४:४३ प्रकाशित