काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छन् ।
मन्त्रालयमा आज राष्ट्रिय पुस्तक नीति–२०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिनेक्रममा उनले पुस्तक पढ्ने बानी बसाउने र पुस्तकालयलाई अत्यावश्यक पुस्तकसहित उपयोगी बनाउने उद्देश्यले यो नीति ल्याउन लागिएको उल्लेख गरिन् । ।
शिक्षामन्त्री भट्टराईले पुस्तक नीतिलाई अन्तिम रूप दिन वृहत् छलफल आयोजना गरिएको उल्लेख गर्दै सुझाव सङ्कलन गर्न र सानो समूहबाट त्यसलाई प्रविष्टि गराई स्वीकृतिको प्रक्रियामा लैजाने बताइन् ।
उनले लेखक, प्रकाशकलाई मानव पुँजीका रूपमा लिएर अथाह ज्ञानका विषयवस्तुलाई पढेर र पढेका कुरा अरुलाई सिकाएर एवम् पढ्नेले पढ्न सिकाएर पुस्तकको महिमा बढाउन सकिने धारणा राखिन् ।
उनले प्रकाशक, लेखक पुस्तक व्यवसायीसहित सरोकारवाला सबैको सहजीकरणका लागि पुस्तकालय ऐन ल्याउने सोच रहेको बताइन् । मन्त्रालयले राष्ट्रिय पुस्तक नीति–२०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिने कार्य प्रारम्भ गरेको हो । मन्त्री बिद्या भट्टराईको अध्यक्षतामा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
अन्तरक्रियामा सांसद मनिष झाले विद्यालय र विश्वविद्यालयमा मात्र नभइ होटल, रेस्टुरेन्टमासमेत पुस्तक पढ्ने सुविधा प्रदान गर्नुपर्ने र नेपाली पुस्तकलाई विदेशमासमेत पहुँच बढाएर गुणस्तरीय पुस्तक सबैलाई उपलब्ध गराउने सहज वातावरण बनाउन केन्द्रीत हुनुपर्ने बताए ।