जव कास्की प्रशासन आफै ठगियो, अनि ….

केन्द्रभाग मिडिया

पोखरा ।

आफैलाई ठगि गरेपछि कास्की प्रशासनले एक भोजनालयलाई दुई लाख जरिवाना तिराएको छ । आइतबार आफैले आयोजना गरेको कार्यक्रममा तोकिएभन्दा निकै कम परिमाण र परिकार सप्लाई गरेको पोखराको चिप्लेढुंगामा रहेको मारवाडी भोजनालयलाई जिल्ला प्रशासन कार्यालय कास्कीले दुई लाख रुपैयाँ जरिवाना गराएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाई, पोखरामा आयोजना गरिएको कार्यक्रममा तोकिएको परिमाण भन्दा कम  खाजा सप्लाई गरेको थियो । उक्त भोजनालयले उपलब्ध गराएको खाजा सम्बन्धमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको पाइएकाले उक्त भोजनालयलाई सोही ऐनको दफा ३९को उपदफा (१) को खण्ड (ख) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको कास्की प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले नियमनकारी निकायले नै गरेको कार्यक्रममा समेत तोकिएको परिमाणमा खाजा नदिने भोजनालयले अरु सर्बसाधारणलाई पनि ठगेको गुनासो आएको बताए ।

‘प्रशासनले नै गरेको कार्यक्रममा तोकिएको परिमाण भन्दा कम परिमाणमा खाजा ल्यानुभयो । तोकिएका परिकार भन्दा निकै कम परिकार थिए । तर, मूल्य तोकिएकै थियो । यसरी प्रशासनलाई नै ठग्नेले अरुलाई पनि ठगेको हुनुपर्छ भनेर बुझ्दा सर्वसाधारणको पनि गुनासो पायौं’ उनले भने ।

  • २० आश्विन २०८१, आईतवार २१:२३ प्रकाशित