बंगलादेशमा यसवर्ष चट्याङबाट ३०० को ज्यान गयो

केन्द्रभाग मिडिया

ढाका ।

बंगलादेशमा यसवर्ष चट्याङका कारण करिब ३०० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान रहेका छन् । यसवर्षको फेब्रुअरीदेखि सेप्टेम्बरसम्मको अवधिमा चट्याङका कारण २४२ पुरुष र ५५ महिला गरी २९७ जनाको ज्यान गएको छ ।

‘सेभ द सोसाइटी एन्ड थन्डरस्टर्म अवेयरनेस फोरम ९एसएसटीएफ०’ ले शनिबार ढाकामा पत्रकार सम्मेलन गरी मृत्यु हुनेको सङ्ख्या सार्वजनिक गरेको हो । सन् २०१९ देखि चट्याङबाट हुने क्षतिको अनुगमन गरिरहेको एसएसटीएफले यस अवधिमा ७३ जना घाइते भएको बताएको छ ।

चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश ग्रामीण क्षेत्रका मानिसहरु रहेको र उनीहरू आफ्नो खेतबारीमा काम गरिरहेका समय ज्यान गएको बताइएको छ । एसएसटीएफले राष्ट्रिय दैनिक, स्थानीय दैनिक पत्रपत्रिका, अनलाइन न्यूज पोर्टल र टेलिभिजन च्यानलहरूबाट चट्याङबाट मृत्यु हुनेको तथ्यांक संकलन गरेको जनाएको छ ।

बंगलादेशमा मौसम परिवर्तन हुने महिनाहरूमा चट्याङ पर्ने र यसका कारण बर्षेनी सयौँले अकालमा ज्यान गुमाउने गरेका उक्त संस्थाले जनाएको छ ।

  • २० आश्विन २०८१, आईतवार १०:३५ प्रकाशित