बीपी राजमार्गको वैकल्पिक सडक कहिले खुल्ला ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

बीपी राजमार्ग अन्तर्गत पर्ने वैकल्पिक मार्ग अहिलेसम्म पूर्ण रूपमा शुरु भएको छैन ।

मंगलटारबाट रोशी खोला पार गरी तेमाल गाउँपालिका–७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुन्डे हुँदै धुलिखेलतर्फको लागि वैकल्पिक मार्ग शुरु गर्न निरन्तर प्रयास भइरहेको तर अहिलेसम्म सञ्चालन नभएको ट्राफिक काभ्रेपलान्चोक जिल्ला समन्वय समितिले सूचना निकालेर जानकारी दिएको छ ।

मंगलटारबाट सिन्धुलीको सिमानासम्मको झण्डै ७ किलोमिटर बाटो सञ्चालन गर्न प्रयास भइरहेको र वैकल्पिक रुट खुल्न साथ जानकारी गराइने सूचनामा उल्लेख छ । बीपी राजमार्ग पूर्ण रूपमा बन्द नै छ । यस्तै हेटौँडा–कुलेखानी–फाखेल–हुमाने सडक आज दिउँसोसम्म खुलाउने तयारी छ ।

अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न ठाउँमा क्षति पुर्‍याएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाण्डौ जोड्ने सडक आज खुलाएर सञ्चालनमा ल्याउने गरी काम भइरहेको यातायात पूर्वाधार निर्देशनालय बाग्मती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेलले जानकारी दिए।

फाखेल सडकखण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा छ । त्यस्तै कुलेखानी सिस्नेरीतर्फको सडक सञ्चालनका लागि भोलि सोमवारसम्म लाग्ने आँकलन गरिएको छ । सङ्घीय राजधानी काठमाण्डौ जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ नियमित सञ्चालनमा छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले सडकको अवस्थाकै कारण यसपाली यात्रुमा दशैँको उत्साह नभएको बताए ।

  • २० आश्विन २०८१, आईतवार १०:०९ प्रकाशित