आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला

केन्द्रभाग मिडिया

काठमाडौँ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा बिक्री खुला गरेको हो ।

यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २२० रुपियाँमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

खाद्यले २०८ वटा खसी बोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको र अरू ल्याउने क्रम जारी रहेको थापथली स्थिति प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख ज्ञानु थापाले बताइन् ।

चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।

निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन् । दसैँमा ठुलो सङ्ख्यामा खसीबोकाको खपत हुने हुँदा व्यवसायीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।

  • २० आश्विन २०८१, आईतवार ०८:५७ प्रकाशित