उपनिर्वाचन र ८४ को चुनावमा माओवादीले सबै तहमा एक्लै चुनाव लड्छ : अध्यक्ष दाहाल

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन । नेकपा माओवादी केन्द्र दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा दाहालले अन्य दलसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको भन्दै अब गठबन्धन नगरी चुनाव लड्ने बताए ।

देशब्यापी रूपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने उनले बताए। उनले प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले महत्त्वपूर्ण पहलकदमी लिएको बताए ।

जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने उल्लेख गर्दै उनले अहिले सरकार कहाँ छ भनेर जनताले नभेटाइरहेको बेला बाढीपहिरोका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेको बताए । अहिलेको सरकार देश र जनताको पक्षमा काम गर्न नभई भ्रष्टाचारीको पक्षमा काम गर्ने सरकार भएको उनको भनाइ छ । उनले सरकारको गलत कामको विरोध र प्रतिवाद सडक र सदनबाट गर्ने स्पष्ट पारे ।

उनले सबैतिरका समस्या केन्द्रित गरेर चाँडै सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसलाई जनताको बीचमा पनि यथार्थ जानकारी गराउने जिकिर गरे ।

  • १९ आश्विन २०८१, शनिबार १६:३६ प्रकाशित