भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको मेयर दाहालद्धारा शिलान्यास

केन्द्रभाग मिडिया

चितवन ।
भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको शनिबार शिलान्यास गरिएको छ । भवनको बोर्डका अध्यक्ष एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरिन ।शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले भवन पुरानो र जिर्ण भएकाले नयाँ भवन निर्माण गर्न बोर्डबाट निर्णय भएको स्मरण गरिन ।

भरतपुरमा शुद्ध खानेपानीको पहुँच ९२ प्रतिशत पुगेकाले अब केही समयपछि शतप्रतिशत पुग्ने दाहालको भनाई थियो । भरतपुरमा विगत ७ वर्षमा अर्बौका खानेपानीका आयोजना निर्माण सम्पन्न भईसकेको र यस वर्ष पनि विभिन्न स्थानमा नयाँ आयोजना निर्माण गरिने प्रमुख दाहालले बताइन ।

महानगरले चालु आर्थिक वर्षमा विपन्न नागरिकले धारा जडान कार्य गर्न रु ५० लाख विनियोजन गरेको जानकारी दिइन । भरतपुर वडा नम्बर १० मा रहेको मुख्य कार्यालयको पुरानो भवन भत्काई सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो । पुरानो भवन तत्कालिन नेपाल खानेपानी संस्थान भरतपुर शाखाको लागि निर्माण गरेको थियो ।

। बोर्डले वर्षेनी आफ्ना क्षेत्र र उपभोक्ताको संख्या विस्तार गर्दै भएपनि जिर्ण भवनबाटै सेवा दिदै आएको थियो । बोर्डका निमित्त कार्यकारी निर्देशक सञ्जय बरालका अनुसार भवन ३ तले बन्ने छ । भवन ५ हजार २ सय ९९ वर्ग फिटमा बन्ने छ । भवन निर्माण गर्न रु २ करोड ८० लाख ४१ हजार बोलपत्र आह्वान गरिएको थियो । भवन निर्माणको जिम्मा चारुमति कन्ट्रक्सन बानेश्वरले रु २ करोड १८ लाख ७५ हजार ५२४ मा पाएको हो ।

२०८१ भदौ १६ गते सम्झौता मितिले १८ महिनाभित्र निर्माण सम्पन्नु गर्नुपर्ने उल्लेख छ । नयाँ भवन निर्माण भएपछि फरक क्षमता भएका सेवाग्राहीलाई सहज हुने बताइएको छ । यसअघि साघुरो र जिर्ण भवनबाट सहज सेवा दिन समस्या हुँदै आएको निर्देशक बरालले बताए । बोर्डका हाल ४० हजार भन्दा बढी सेवाग्राही छन् ।

  • १९ आश्विन २०८१, शनिबार १५:५२ प्रकाशित