काठमाडौं ।
बाढीपहिरोका कारण देशका मुख्य राजमार्गका सडक अझै अवरुद्ध छन् ।
बाढी र पहिरोले सडकमा क्षति पुर्याएपछि काठमाडौंसहित विभिन्न जिल्लामा सवारी आवागमन प्रभावित भएको हो ।
बिहान ८ बजेसम्मको अपडेट अनुसार ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी आज पनि चल्न सकेका छैनन् । पुल नजिकै सडक भासिएका कारण सवारी आवागमन बन्द भएको हो ।
बिपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् ।१२ असोजमा काभ्रेको रोशी खोलामा आएको बाढीले सडक कटान गरेपछि बिपी राजमार्ग अझैसम्म पूर्णरुपमा अवरुद्ध भएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ ।
रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीको पुल र खाडादेवी गाउँपालिका १ स्थित खैरेनी पुल बगाउदा खुर्कोट(मन्थली तथा सिन्धुली, नेपालथोक(मन्थली चल्ने सवारी साधनको आवागमन पनि पूर्ण रुपमै रोकिएको छ ।
सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ ।