पोखरा-चितवन- पोखरामा सुविधासम्पन्न बस सेवा सुरु (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।

देशका झण्डै सबैजसो भागमा आफ्नो यातायात सञ्जाल रहेको यात्रुबहाक बस सञ्चालन गर्ने देशकै ठूलो मध्यको एक पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले गुणस्तरीय एवं सुविधायुक्त यात्रुबहाक बस भित्र्याउने क्रमलाई निरन्तरता दिएको छ । पोखरा–काठमाडौं– पोखरा सफासहितका सुविधा सम्पन्न एसी बस सञ्चालनमा ल्याएको कम्पनीले अब पोखरा देखि चितवनसम्म पनि स्तरीय र सुविधासम्पन्न बस सञ्चालनमा ल्याएको छ ।

बडादशैंको अबसर घटस्थापनाको दिन बिहीबार पोखरा–चितवन–पोखरा सोफासहितको एसी बस सञ्चालनमा ल्याइएको हो । सुबिधायुक्त २५ सिटे उक्त बस पोखराको पर्यटन बसपार्क बाट विहान ७ः३० बजे यात्रुलाई खादामालासहित बिधाई गरेर छुटेको हो । चितवनबाट विहान ७ः०० बजे बस छुट्ने व्यवस्था गरिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

सेवा आरम्भको अवसरमा बोल्दै अध्यक्ष केसीले यात्रुलाई प्रस्थान विन्दुबाट गन्तव्यमा सुरक्षित र सुविधाका साथ पुर्याउने उद्देश्यले पछिल्ला प्रविधि जोडिएका सुविधायुक्त बस पोखरा र चितवनका लागि सञ्चालनमा ल्याइएको जानकारी दिए ।

उनका अनुसार दुई वटा बस डेढ करोडको लगानीमा ल्याइएको हो । बसमा एसीसहित २र१ सोफाको सुविधा रहेको छ । ११ सयरुपैयाँ भाडादर निर्धारण गरिएको उक्त बस छुट्टै पोशाकसहित अनुभवी चालकले चलाएका छन् ।

अध्यक्ष केसीका अनुसार फ्रुट, बिस्कुट, लेज, कुरकुरेसहितका सेवा यात्रुले पाउनेछन् । साथै यात्रुकै रोजाई अनुरुपको खाना खाने ठाउँमा बस रोकिनेछ । यो रुटमा पहिलो पटक यस्तो सुविधायुक्त बस सञ्चालन गरिएको अध्यक्ष केसीले दाबी गरे ।

चितवनबाट ७ बजे चेढेका यात्रु १ बजे पोखरा आइपुग्ने र पोखराबाट ७ः३० बजे चढेका यात्रु १ देखि २ बजेसम्म समयमै चितवन पुर्याइने उनले जानकारी दिए ।

 

  • १७ आश्विन २०८१, बिहीबार ०९:०६ प्रकाशित