गृहको कार्यदल बाढी–पहिरो प्रभावित क्षेत्रमा खटियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

गृह मन्त्रालयको कार्यदल बाढी–पहिरो प्रभावित क्षेत्रमा खटिएको छ ।

अति वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्धार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि प्रभावित क्षेत्रमा खटिएका छन् । गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठ जना सहसचिव बुधबार खटिएको जानकारी दिए ।

कार्यदललाई बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो ।

गृह मन्त्रालयका अनुसार काठमाडौँमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेपलान्चोक वासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ ।

कार्यदललाई अति वर्षका कारण उत्पन्न बाढी–पहिरोबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा सुझाव दिने, क्षतिग्रस्त सडकहरूको शीघ्र मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सडक निमार्ण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने र विपद् पीडित नागरिकहरूको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यदेश दिइएको छ ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन् । कार्यदललाई असोज २१ गतेसम्म गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्न समयावधि दिइएको छ ।

  • १६ आश्विन २०८१, बुधबार १५:२७ प्रकाशित