झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी सुरु

केन्द्रभाग मिडिया

धादिङ ।

धादिङ र काठमाडौँको सिमाना नजिकै धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ ।

तीन वटा सवारी साधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारी साधन पुरिएको हुनसक्ने आशंकामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छ्याएर पुनः खोजी गरिएको हो ।

झन्डै दुई सय मिटर माथिबाट डाँडै भासिएर झरेको पहिरोको गेग्य्रानले सडकको कुना भागमा र सडकको तलतिर ठूलो थुप्रो लागेको थियो ।

दुईवटा माइक्रोबस र एक ठूलो बस पुरिएको अवस्थामा फेला परेको स्थानमा एउटा कार पनि पुरिएको भन्ने आशंका रहेकाले पहिरोले थुप्रिएको माटोसमेत पुनः पन्छाएर खोजी गरिएको र पहिरोमा कुनै पनि सवारी साधन फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।

निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर आज बिहान पहिरोको गेग्य्रान पन्छाएपछि अहिले झ्याप्ले खोला क्षेत्रमा दुईतर्फी सडक खुलाइएको छ ।

सवारी साधन चापकै कारण जोखिमपूर्ण स्थानहरुमा जाम हुन नदिन काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनलाई आलोपालो गरी आउजाउ गराइएको छ । निरन्तरको वर्षासँगै शुक्रबार राति झ्याप्ले खोलामा पहिरो खसेको थियो । झ्याप्लेखोलामामा गोरखाबाट आएको एउटा बस, बुटवल र चितवनबाट आएका दुई वटा माइक्रोबस पुरिँदा ३५ जनाको ज्यान गएको थियो ।

  • १६ आश्विन २०८१, बुधबार १४:३६ प्रकाशित