काठमाडौं ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि ठूलो पानी परेका क्षेत्रमा अबका दिनमा थोरै पानी परे पनि पहिरोको उच्च जोखिम रहेको जनाएको छ । साथै प्राधिकरणले पर्सिसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।
प्राधिकरणका प्रवक्ता डा।डिजन भट्टराईका अनुसार असोज १० देखिको मुसलधारे वर्षाले धेरै ठाउँमा जमिन गलेको अवस्था हुँदा अब सानो पानी परे पनि ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम कायमै रहेको बताए ।
यात्रामा पनि पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्न, ठूलो पानी पर्न लागेको बेला सुरक्षित ठाउँमा गाडी रोकेर पानी पर्ने क्रम रोकिएपछि मात्र यात्रा गर्न र नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्राधिकरणको अनुरोध छ । पहिरोको जोखिम भएका क्षेत्रका नागरिकलाई सुरक्षित ठाउँमा सर्न पनि प्रवक्ता डा.भट्टराईको आग्रह छ ।
मौसम पूर्वानुमानअनुसार आजदेखि पर्सिसम्म कोशी, बाग्मतीलगायतका प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले देशभर मनसुनी वायुको प्रभाव छ । सामान्यतया अक्टोवर दुई तारिखम अर्थात् आजदेखि मनसुन बाहिरीने अवधि भए पनि यसवर्ष मनसुन अझै केही दिन लम्बिने भएको छ ।












