पोखरा ।
लागू औषधको बिक्री वितरण गरेको आरोपमा पोखरा ७ रत्नचोकमा रहेको शुभेक्षा फार्मेसीका संचालक मित्रलाल शर्मा पक्राउ परेका छन । पोखरा १७ पावरहाउस घर भएका ५८ वर्षिय शर्माले रत्नचोकमा रहेको शुभेक्षा फार्मेसीबाट लागू औषध बिक्री वितरण गरेको आरोप प्रहरीले लगाएको छ ।
कास्की प्रहरी प्रवक्ता बसन्त कुमार शर्माका अनुसार फार्मेसी सञ्चालक शर्मालाई जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउसो १ बजेको समयमा पोखरा ७ रत्नचोकमा रहेको शुभेक्षा फामेसीबाट लागुऔषध टापेन्टाडोल हाइड्रोक्लोराइड क्याप्सुल ५० एमजीको लागू औषध १ सय १५ चक्की बरामद गरेको थियो ।
प्रहरीले सोधपुछको क्रममा आरोपित शर्माले पोखरा १७ पावरहाउस स्थित घरमा लुकाइछिपाइ राखेको टापेन्टाडोल हाइड्रोक्लोराइड क्याप्सुल ५० एमजीको लागु औषध ४५ हजार ७० चक्की बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका शर्मालाई कास्की जिल्ला अदालतबाट लागु औषध मुद्धामा १५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।