शुक्रबार पाल्पाबाट छुटेको बस सम्पर्कविहीन

केन्द्रभाग मिडिया

काठमाडौं।

पाल्पा अगाहाखोलादेखि काठमाडौंका लागि शुक्रबार छुटेको बस सम्पर्कविहीन भएको छ । पाल्पाको अगाहा खोलाबाट शुक्रबार रातिका छुटेको ग २ ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको हो ।

अगाहाखोलाबाट स्याङ्जा–पोखरा हुँदै काठमाडौं आउन लागेको रात्री बसका चालक र सहचालकसँग सम्पर्कविहीन रहेको बसधनी विमल अर्यालले जानकारी गराए ।

बसका चालक र सहचालक शुक्रबार मध्यरातदेखि बसका स्टाफसँग सम्पर्क हुन नसकेको अर्यालले बताए ।

‘चालकसहित तीनै जना स्टाफको मोबाइल अफ छ । गाडी भेटिएको छैन । उनको अनुसार काठमाडौंमा सबैतिर सम्पर्क गर्दा गाडी नआएको जानकारी गराएका छन् ।

मुग्लिङ कट्ने बेलासम्म गाडी चालकसँग सम्पर्क भएको र त्यसपछिको अवस्था अज्ञात रहेको अर्यालले जानकारी गराए ।अर्यालका अनुसार बसमा १८ देखि २० जना यात्रु रहेका थिए । उक्त बसका यात्रुहरुसँग पनि सम्पर्क हुन सकेको छैन ।

निरन्तरको वर्षाले पृथ्वी राजमार्गमा ठाउँ ठाउँमा पहिरो गएको छ ।

  • १३ आश्विन २०८१, आईतवार १४:३८ प्रकाशित