औषधि थोक व्यवसायी संघ गण्डकीको आयोजनामा लागुऔषध सम्बन्धी प्रशिक्षण

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल औषधि थोक व्यवसायी संघ गण्डकी प्रदेशको आयोजनामा लागु औषध सम्बन्धी प्रशिक्षण तथा सेचतनामुलक कार्यक्रम सम्पन्न भएको छ । लागु औषधको विषयमा जानकारी दिन र मर्यादित रुपमा व्यवसाय सञ्चालनका लागि सचेत गराउँदै औषधि खरिद विक्रीका नाममा गलत कार्य हुन नदिन यस्तो कार्यक्रम गरिएको हो ।

पोखराको होटल पौवामा शुक्रबार भएको उक्त कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले लागु औषधको कारोवार संगठित अपराध हो भन्दै राज्यले निषेध गरेका काम गर्न नहुने बताए ।

पछिल्लो समय लागु औषध मुद्दामा विभिन्न औषधि व्यवसायी समेत पक्राउ हुने क्रम बढेको उनले बताए । व्यवसायी सचेत र मर्यादित बन्ने हो भने समस्या नआउने उनले धारणा राखे । यस्ता खालका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन उनले आग्रह गरे । उनले चिकित्सकको सल्लाह बिना दिन नहुने अर्थात लागु औषधको रुपमा दुरुपयोग हुन सक्ने औषधीको खरिद बिक्रीको रेकर्ड राख्न आग्रह गरे ।

लागुऔषध नियन्त्रण व्युरो पोखराका प्रमुख, प्रहरी वरिष्ठ नायव निरीक्षक विधाधर त्रिपाठी र गण्की मेडिकल कलेजका एसोसिएट प्रोफेसर विन्दु मल्लले नेपालमा लागु औषध सम्बन्धी विद्यमान कानून, लागु औषधको रुपमा प्रयोग हुन सक्ने औषधीका साथै त्यसको गलतढंगले बिक्रिबितरण एवं प्रयोग भएमा हुनसक्ने दण्ड सजायँ लागयतको विषयमा प्रशिक्षण दिएका थिए ।

नेपाल औषधि थोक व्यवसायी संघ गण्डकीका अध्यक्ष रुद्र मल्लले व्यवसायीहरु समेत लागु औषध बेचविखन र गलत प्रयोगका कारण पछिल्लो समय पक्राउ पर्न थालेपछि एक प्रकारको निरासा आएको बताए । यो कार्यक्रमले गलत नगर्नेहरुलाई समस्या नहुने जानकारी दिन सफल भएकाले निकै उपयोगी बनेको उनले सुनाए । हामीले गलत गरेनौं भने समस्या हुँदैन । गलत गर्नेहरुलाई हामीले संरक्षण पनि गर्दैनौं । औषधि व्यवसायलाई मर्यादित बनाउन हामी प्रतिवद्ध छौं, उनले भने ।

जिल्ला प्रहरी कार्यालयको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा ५५ जना व्यवसायीको सहभागिता रहेको र कार्यक्रम निकै उपायोगी भएको आषधि व्यवसायी थोक व्यवसायी संघ गण्डकीका महासचिव रमेश बोहराले जानकारी दिए । उनका अनुसार औषधि थोक व्यवसायी संघले विगतमा पनि विभिन्न खालका सचेतनामुलक कार्यक्रमका साथै सामाजिक कार्य गर्दै आएको छ ।

  • ११ आश्विन २०८१, शुक्रबार २१:४३ प्रकाशित