म्याग्दी ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ । जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर असफाल्ट प्रविधिको कालोपत्र गरिएको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न २८ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले कालोपत्रको काम पूरा भएको तथा सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको बताए ।
कागबेनीदेखि कोरलातर्फ दुई किलोमिटर र एक्लेभट्टीदेखि कागबेनी जोड्ने वैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र भएको छ । जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने करिडोरअन्तर्गत आठ खण्डमा विभाजन गरेर प्रारम्भ भएको एक सय १० किलोमिटरमध्ये ७५ किलोमिटरमा सडक विस्तार र ग्राभेलको काम पूरा भएको छ ।
२५ किलोमिटर लामो चराङ–छोसेर खण्डमा ९२ प्रतिशत निर्माण सम्पन्न भएको छ । यो खण्डको स्तरोन्नति पूरा भएपछि जोमसोमदेखि कोरलासम्मको सडक गाभ्रेल हुने आयोजना प्रमुख ध्रुवकुमार झाले बताए ।