प्रथम पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा

केन्द्रभाग मिडिया

पोखरा ।

प्रथम पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा भएको छ ।

यही असोज १२ गते शनिबार बिहान ७ बजे देखि सुरु हुने दौड प्रतिगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा क्लिब अनलाइन सञ्चारमाध्यमले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

दौड प्रतियोगितामा ३ देश (नेपाल, बेलायत र ब्राजिल) का गरी ७१ पुरुष र ३३ महिला धावकले भाग लिने भएका छन् । तीमध्ये सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र ९ वर्षीय बालकले समेत भाग लिदैछन् ।

दौड प्रतियोगिता विश्व शान्ति स्तुपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मुर्ति परिक्रमा गरी पोखरा वडा नम्बर २२ कार्यालय हुदैँ बुद्ध पार्क(निगाले डाँडा) सम्म पुगेर टुंगिने भएको छ । ८ किलोमिटर उक्त दौड प्रतियोगितामा खुला, महिला,पोखरा २२ वडास्तरीय र यू–१६ गरी ४ इभेन्ट समावेश गरिएको छ ।

प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई ७ हजार साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

यस्तै महिला धावक र यू–१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक – एक जनालाई नगद ७ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

सेप्टेम्बर २१ म परेको विश्व शान्ति दिवस एवम् ११ सेप्टेम्बरमा परेको विश्व पर्यटन दिवसको अवसरमा आयोजित प्रतियोगितासँगै पोखरा २२ का प्रमुख पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति र बुद्ध पार्कको प्रचार प्रसार र पोखरा घुम्न आउने पर्यटकको एक दिन भए पनि बसाई लम्बिने आयोजकको विश्वास छ ।

सो अवसरमा पर्यटन उद्यम र समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र ब्रिटिस आर्मीका पूर्व लेफ्टिनेन्ट तथा मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई ‘पोखरा क्लिक विशिष्ट सम्मान’गरिने भएको छ ।

पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले यो कार्यक्रम पोखरा२२ का आफ्नै कार्यक्रम भएको बताए ।‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ भन्ने नारासहित प्रतियोगिता हुन लागेको हो ।

  • १० आश्विन २०८१, बिहीबार १६:१० प्रकाशित