स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरेको छ ।

उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले आज १० असोज देखि १६ असोजसम्म दल दर्ता गर्न सक्नेछन्।

उपनिर्बाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम १६ असोजसम्म कार्यालय समयभित्र निवेदन दिन भनेको हो ।

दलहरूले निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा कान्तिपथस्थित आयोगको कार्यालयमा निवेदन दिनसक्ने उपन्यायाधिवक्ता केदार कुमार अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।

स्थानीय तहमा रिक्त भएका पदमा नयाँ जनप्रतिनिधि ल्याउन सरकारले आउँदो १६ मंसिरमा उपनिर्वाचन गर्दैछ ।

जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी स्थानीय तहका ४० पदमा उपनिर्वाचन हुन लागेको हो ।

  • १० आश्विन २०८१, बिहीबार ०९:४५ प्रकाशित