परीक्षण र राजश्व दुबै बढाउँदै प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी

निजी प्रयोगशालामा भन्दा ५ गुणा सस्तो, गत आर्थिक वर्षमा १५ लाख भन्दा धेरै राजश्व समेत संकलन

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आफ्नो क्षमता र राजश्व संगसंगै  बृद्धि गर्दै लगेको छ । प्रदेश जनस्वास्थ्य ल्याव गण्डकीका महानिर्देशक मन मोहन मिश्रले  प्रयोशालाको क्षमता र राजश्व दुबै बृद्धि हुँदै गएको जानकारी दिए । विहान ८ बजेदेखि साँझ ५ बजेसम्म परीक्षणको समय बढाइएसंगै सेवाग्राहीको चाप पनि बढ्दै गएको उनले बताए ।

महानिर्देशक मिश्रका अनुसार अहिले प्रदेश जनस्वास्थ्य प्रयोगशालाले विभिन्न ३०० भन्दा बढी प्रकारका परीक्षण गर्न सक्छ । यसको क्षमता विस्तार गरेर एक हजार प्रकारको परीक्षण गर्ने योजना रहेको उनले सुनाए ।

आम सर्वसाधारणलाई बाहिर १५ हजार रुपैयाँ खर्च हुने परीक्षण प्रदेश जनस्वास्थ्य ल्यावमा तीन हजार पाँच सय रुपैयाँमा हुने उनले जानकारी दिए । बाहिर निजी ल्यावमा परीक्षण गर्नुभन्दा प्रदेश ल्यावमा परीक्षण गर्दा ५ गुणा सस्तो पर्ने उनको भनाई छ । ‘बाहिर निजी ल्यावमा कूनैपनि प्रकारको परीक्षण भन्दा हाम्रोमा ५ गुणासम्म सस्तो पर्छ । कतिपय परीक्षण निशुल्क समेत हुन्छ’ उनले भने ।

प्रदेशका अन्य ल्यावहरुको समेत गुणस्तर परीक्षण प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएकाले ल्यावहरुको समेत ल्यावको रुपमा  यसको बिकास गरिएको उनले बताए । ‘गण्डकी प्रदेशका अरु ल्यावहरुको पनि हामीले गुणस्तर हेर्छौं । त्यसैले यहाँ परीक्षण गर्दा थप विश्वसनियता हुने स्वभाविक भइहाल्यो’ उनले भने ।

प्रदेश जनस्वास्थ्य ल्यावले कोभिड– १९ को बेलामा दुई लाख भन्दा धेरै नमुना परीक्षण गरेको थियो । अहिले पनि कोभिड लगायतका महामारी जन्य रोगको परीक्षण निरन्तर छ ।  प्रदेश ल्यावले गत आर्थिक वर्षमा १५ लाख ६८ लाख ५७५ रुपैयाँ राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/८० मा एक लाख ३९ हजार ५६२ रुपैयाँ मात्र राजश्व संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षको भन्दा  पछिल्लो आर्थिक वर्ष १४ लाख २९ हजार ५६२ रुपैयाँ राजश्व संकलन बढी हो । चालु आर्थिक वर्षको सुरुवाती दुई महिना (२७ भदौसम्म) मा मात्रै ८ लाख ६४ हजार ७४६ रुपैयाँ राजश्व संकलन भएको महानिर्देशक मिश्रले जानकारी दिए ।

प्रदेश जनस्वास्थ्य ल्यावले नसर्ने रोगको समेत परीक्षण गरिरहेको छ । ३१ साउन २०७८ बाट नसर्ने रोगको परीक्षण सुरुवात गरिएको र अहिले नसर्ने रोगको स्क्रिनिङका लागि आगाडि बढेको  मिश्रले बताए । प्रदेश जनस्वास्थ्य ल्यावमा प्रदेशका ३५ ल्यावहरु अहिले नेटवर्कमा आएका छन् । २५ वटा पालिकामा प्रत्यक्ष सहकार्य भएको छ । यो सहकार्य सबै पालिकासम्म पुर्याउने लक्ष्य राखिएको उनले जानकारी दिए ।

  • १० आश्विन २०८१, बिहीबार १३:४३ प्रकाशित