आज देशभर वर्षा र गण्डकीसहित चार प्रदेशमा भारी वर्षा हुने

केन्द्रभाग मिडिया

पोखरा ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव छ । साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली छ । कोशी, मधेश, बागमती, गण्डकी ,लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना  छ ।

कोशी, बागमती , गण्डकी र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना छ।

भारी वर्षा हुने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न र आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महशाखाले आग्रह गरेको छ ।

  • ९ आश्विन २०८१, बुधबार ०६:२५ प्रकाशित